| मङ्लबार, कार्तिक २४, २०८३

मनकामना मगर सामुदायिक होम स्टे : न्यायो आतिथ्यतामा स्थानीय परिकारको स्वाद, मगर समुदायको परम्परा र संस्कृतिको अवलोकन

सुन्तला उत्पादनमा ह्रास आउन थालेपछि स्थानीयको आम्दानी घट्दै गयो । युवा विदेश पलायन हुने क्रम बढ्न थाल्यो । तव स्थानीयहरु मिलेर गाउँमा होम स्टे संचालन गर्ने अठोट गरे । अनि संचालनमा आयो मनकामना मगर सामुदायिक होम स्टे ।

शहिद लखन गाउँपालिका–२ ढाँडवारीमा अवस्थित उक्त होम स्टे गत बर्षबाट संचालनमा आएको हो । मगर समुदायको प्राचीन परम्परा, संस्कृति र खानपानको संरक्षण एवं प्रवद्र्धन गर्ने उनीहरुको उदेश्य छ । आयआर्जनको स्रोत बढाउँदै युवालाई गाउँमै टिकाउने वातावरण सृजना गर्ने लक्ष्य समेत रहेको होम स्टे संचालक समिति अध्यक्ष शिव राना मगर बताउँछन् ।

अहिले १० घरधुरीमा हामेस्टे सेवा संचालनमा छ । स्थानीय परिकारको अर्गानिक स्वाद मात्र होइन त्यहाँ आउने पर्यटकले मनासलु हिमाल लगायतका हिमश्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न समेत पाउँछन् । लोकल कुखुराको मासु, ढिडो, गुन्द्रुक अचार लगायतका परिकार त छदै छ । त्यसमाथि सुन्तलाको जुस र वाइन पनि । मगर समुदायको संस्कृति कौरा, सोरठी, मारुनी, थाली र झ्याउरे नाँच पाहुनाले मनोरन्जन लिन सक्छन् ।

समितिले होम स्टे आउने पर्यटकका लागि प्रति व्यक्ति एक हजार रुपैयाको प्याकेज बनाएको छ । उक्त प्याकेजभित्र खाजा, बेलुकीको खाना (लोकल कुखुराको मासुसहित) र एक रातको बसाई पर्ने रानाले बताए । ‘होमस्टे संचालन भएका घरलाई हामीले नम्वरिङ गरेका छौ,’ उनले भने, ‘पहुना राख्न ती घरहरुलाई आलोपालो गर्छाै ।’ आम्दानीको दश प्रतिशत रकम भने समितिमा राख्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

उनका अनुसार कात्तिकदेखि माघ महिनासम्म आउने पाहुनाले बोटबाटै टिपेर ताजा सुन्तलाको स्वाँद लिन पाउनेछन् । रसिलो र मिठो हुने भएकाले मनकामनाको सुन्तला ब्राण्ड बनिसकेको छ ।होमस्टेमा हाल ४४ जना पाहुना अट्छन् । एउटा सामुदायिक हल समेत बनाइएको छ । होमस्टे संचालनका लागि स्थानीयले ६५ दिने सिटिइभिटी सर्टिफाइट तालिम समेत लिएका छन् । एलडब्लुआर, सहमति र पालिकाको समन्वयमा उनीहरुलाई तालिम दिइएको हो ।

विपद उत्थानशिल युवा महिला उद्यमी परियोजना अन्तरगत दिइएको तालिममा होम स्टे संचालन गर्ने सीप सिकाइएको परियोजना संयोजक शिव सुवेदीले बताए । ‘पहुनालाई स्वागत सत्कार कसरी गर्ने, सुत्ने कोठाका वेडहरु कसरी मिलाउने, किचेन गार्डेनिङ लगायतका कुराहरु तालिममा सिकायौ,’ उनले भने । सुन्तलाको पकेट क्षेत्र भएकाले सुन्तलाको जुस बनाउने तरिका पनि सिकाइएको उनले जानकारी दिए ।

सुवेदीका अनुसार स्थानीयलाई कौरा र थाली नाँचको प्रशिक्षण समेत दिइएको थियो । तनहूँको घिरिङबाट मगर टोलि बोलाएर सात दिनसम्म कौरा नाँचको प्रशिक्षण गराइएको बताइएको छ । थाली नाँच सम्बन्धि प्रशिक्षण म्याग्दीकी पविता पुनले दिएकी थिइन् । होम स्टे संचालनले तरकारी खेतीलाई बजारको समस्या नभएको संचालक समिति सदस्य तुलसी थापा मगरले बताइन् ।

‘सिस्नुको पाउडर, जिम्वु पनि उत्पादन गर्छाै,’ उनले भनिन्, ‘तरकारी होस् वा फलफुल हामीले गर्ने उत्पादन सबै पाहुनाका लागि खपत हुन्छ, बजारमा बेच्न लानुपर्ने झन्झट छैन ।’ यसको आयआर्जनमा समेत बृद्धि गरेको उनले सुनाइन् । मगर समुदायको संस्कृति जर्गेनामा समेत होम स्टे ले सहयोग पु¥याउने स्थानीयको अपेक्षा छ । सो क्षेत्रमा रहेका अन्य घरधुरीमा पनि होम स्टे विस्तार गर्ने योजना रहेको अध्यक्ष रानाले बताए ।

‘सडक छेउमा भएकालाई होटलको रुपमा लाने र बाँकी घरलाई होम स्टे मा जोड्ने योजना छ,’ उनले भने । पारिवारिक वातावरण रहेको उक्त होम स्टे बाट प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्न पैदल करिव दश मिनेट मात्र लाग्ने समितिले जनाएको छ । मनकामनाको दर्शनसँगै होम स्टे को मज्जा लिन समितिले भक्तजन तथा पर्यटकहरुलाई आग्रह समेत गरेको छ ।

कसरी पुग्न सकिन्छ होम स्टे
तनहूँको आँवुखैरेनी र गोरखा जोड्ने मस्र्याङदी नदी माथिको पुल तरेर दायाँ तर्फ लागेपछि करिव ८ किलोमिटरको दुरीमा यस होम स्टे रहेको छ । सडक सञ्जाल जोडिएका कारण चार वा दुई पाङग्रे सवारीमा सजिलै पुग्न सकिन्छ । मनकामना केवलकारबाट पनि पुग्न सकिने छ । मनकामना मन्दिर पुगेर करिव दश मिनेटको पैदल दुरी तय गरेपछि यो गाउँ पुग्न सकिने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्