| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेको सातकन्या माविले पायो नयाँ छात्रावास भवन

धार्चे गाउँपालिका–३ सातकन्या माध्यमिक बिद्यालयमा रहेको छात्रावास भवन पुननिर्माण भएको छ । सिङ्लाका स्थानीय मनबहादुर गुरुङको समन्वय र बेल्जियम नागरिक मोनिकाको आर्थिक सहयोगमा भवन पुनर्निर्माण गरिएको हो ।
भवनमा कुल आठ कोठा छन् । उक्त छात्रावासमा १५ जना बिद्यार्थी बस्छन् ।

सिङ्ला उहिया, दुङ्ला खोर्लावेशी लगायतका ठाउँबाट आउनुपर्ने बिद्यार्थीहरु छात्रावासमा बस्ने गरेको बिद्यालयका प्रधानाध्यापक सिता गुरुङले बताइन् । ‘त्यहाँबाट आउने बिद्यार्थीहरु स्कुल आउन डेढ घण्टासम्म लाग्छ,’ उनले भनिन्, ‘त्यसैले उनीहरुलाई यही छात्रावासमा राखिएको हो ।’ छात्रावासमा बस्ने व्यवस्था भएपनि खानाको व्यवस्था बिद्यार्थी आफैले गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

‘छात्रावासमा बस्ने बिद्यार्थीलाई आफै पकाएर खानुपर्ने बाध्यता छ, पालिका वा कुनै संघसंस्थाले त्यसमा सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ,’ उनले भनिन् । यसअघि रहेको छात्रावास भवन जीर्ण भएपछि पुननिर्माण गरिएको हो । भवन निर्माणको क्रममा छात्रावासका बिद्यार्थीहरु स्थानीयहरुको घरमा बसेका थिए । नवनिर्मित छात्रावास भवनको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्