| शनिबार, कार्तिक २१, २०८३

नुब्री उपत्यकामा हिमपात, चुम उपत्यकामा हावाहुरीले रुघाखोकीका बिरामी

उत्तरी गोरखाको नुब्री उपत्यकामा हिमपात भएको छ । सोमवार अपरान्हदेखि हिउँ पर्न थालेको चुमनुब्री २ स्यालाका पेम्वा रेता लामाले बताए । ‘दिउसो चारबजेदेखि हिउँ पर्न थालेको हो । अहिले पनि परिरहेको छ,’ उनले भने, ‘अब झन् चिसो बढ्छ ।’
चुमनुब्री १ सामागाउँ, साम्दो, वडा नं. २ ल्हो, स्यालालगायतका स्थानमा हिमपात भएको उनले जानकारी दिए । हिउँ परेसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ । ‘अब चिसो बढेर घरबाहिर निस्कन सकिदैन, घरभित्रै खोले पकाउँदै खाँदै बस्ने हो,’ लामाले भने, ‘याक, चौँरीलाई पनि गोठभित्रै पराल, सुकेको घाँस दिएर राखेका छौँ ।’

अहिले यो बर्षकै पहिलो पटक हिउँ परेको उनले बताए । हिमपातले खेतीलाई भने फाइदा पुग्ने उनको भनाइ छ । अहिले करु रोपिएको र हिउँले खेती सप्रिने भन्दै स्थानीय खुशी छन् ।
उत्तरी गोरखाको अर्को पाटो चुमभ्यालीतिर भने हिउँ परेको छैन । सामागाउँकै उचाइमा रहेको छेकम्पारतिर हिउँ पर्नुको साँटो तीब्र गतिमा हावाहुरी चलेर स्थानीयलाई हैरान पारेको छ । ‘ठूलो हावाहुरी चलेर धुलोको मुस्लो उँडाउँछ । चिसो र धुलोले गाउँले सबै रुघाखोकीको बिरामी छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्