
अबको एकसातासम्म पृथ्वीराजमार्ग दिउँसो तीनघण्टा अवरुद्ध हुँदै
राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग आइतबारदेखि तीनघण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिने भएको छ । आइतबारदेखि शनिबारसम्म एकसाताभरि बिहान ११ बजेदेखि २ बजेसम्म राजमार्ग ठप्प पारेर सडक स्तरोन्नतिको काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
नागढुंगा–मुग्लिन सडकलाई विभिन्न तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम गर्न लागिएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । स्तरोन्नतिको काममा ढिलाइ भएको आरोप आइरहेका बेला तीनघण्टा सवारी अवरुद्ध पारी काम गर्न लागिएको कार्याद्वारा जारी सूचनामा उल्लेख छ । अप्ठ्यारा खण्डहरुमा आइतबारदेखि १३ गते शनिबारसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरेर काम गरिने छ ।
एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधन उक्त समयावधिमा चलाउन पाइने छैन । सडक विभागका अनुसार धादिङको धुनीबेसी नगरपालिका–९ स्थित नागढुंगा सुरुङमार्ग आसपासको सिस्ने खोला क्षेत्र, नौबिसे–मलेखु खण्डको पोखरे क्षेत्र र मलेखु–मुग्लिन खण्डको विशालटार क्षेत्रमा काम हुने भएकाले तीनघण्टासम्म सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।
अप्ठ्यारो भीर र मोड कटान गर्दा माथिबाट ढुंगा खसेर लाग्ने जोखिम रहेकाले निश्चित समयका लागि सवारी साधन आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वीखण्डका योजना प्रमुख केशवप्रसाद ओझाले बताए । ‘सवारी साधन नरोकी एक लेन सडक बनाएर पनि अरु काम गर्न सकिन्छ,’ उनले भने, ‘अहिले सडक चौडा पार्नका लागि उक्त सडक खण्डमा जहाँ–जहाँ अप्ठ्यारो पहाड छ, त्यसलाई कटान गरेर मिलाउन खोजिएको हो ।’
सडक बन्द रहँदा कुन सवारी साधन कहाँ रोक्ने भन्ने बारे सडक कार्यालयले ट्राफिक प्रहरीको सहयोगमा स्थान तोकेर सूचना जारी गरेका छन् । नागढुंगा–मुग्लिन खण्डमा दैनिक करिब १५ हजार सानाठूला सवारी साधन ओहोरदोहोर गर्छन् । अहिले तीनवटै खण्डमा धमाधम काम भइरहेको उनको भनाइ छ । पहिला भन्दा अहिले कामको गति केही बढेको उनले सुनाए ।
(फाइल तस्वीर)




