
चन्द्रमायाको कफीप्रेम
मेलिना बराम ।
छोरा मामाघर जाँदा कफी खान मन पराउँथ्यो । आफ्नो घरमा पनि कफी बनाउँ न भनेर आमालाई पिरोल्थ्यो । चन्द्रमायासंग न कफी जोरजाम गर्ने थैली हुन्थ्यो, न बनाउने ढंग । त्यसतिर उनले खासै चासो दिइनन् । ‘मामा घरमा चाहिँ पाहुनालाई कफी दिन्छन्, हाम्रो तिर चाहिँ खालि जाँडरक्सी मात्र । हामी पनि कफी दिने गरौँ न भनेर करकर गथ्र्यो’, बारपाक सुलिकोट ३ स्वाँराकी चन्द्रमाया तामाङलाई छोरोको कफीमोहको अहिले पनि सम्झना छ ।
छोरो वैदेशिक रोजगारीमा दुबई गयो । भाग्यवश, दुबईमा पनि उसले रेस्टुराँमा कफी बनाउने काम पायो । विदेशमा रहेको छोरासित एकछिन बातचित गर्दा पनि छोराले विदेशमा कफीको लोकप्रियता र कफीका पारखीहरुको बारेमा आमालाई सुनाउँथ्यो । कफीखेती गरेर बेच्न सके राम्रो कमाइ हुने आशा देखाउँथ्यो । छोरोको कफी महिमा सुन्दासुन्दा उनको मन पनि कफीतिर ढल्किरहेको थियो ।
संयोगबश गतबर्ष गोरखाबाट एकिकरण नेपाल नामक गैरसरकारी संस्था सोही क्षेत्रमा ‘कफी पकेट’ कार्यक्रम लिएर गयो । गाउँका कृषि समूहहरुलाई कफीको बिरुवा बाँड्यो । उनले आफूलाई पनि कफीको बिरुवा दिन अनुनय गरिन् तर, समूहमा आवद्ध किसानलाई मात्र बिरुवा दिने संस्थाको सीमा थियो । त्यसैले विरुवा वितरण गरेर संस्था फर्कियो, उनी रित्तोहात घर ।
भोलिपल्ट उनी अघिल्लो दिन विरुवा वितरण गरेको ठाउँमा पुगिन् । अघिल्लो दिन बाँडेको केही कफीको बिरुवा बाँकी रहेकोले उनले कफीको बिरुवा पाउने भईन् । सबैले लगेर बाँकी रहेको बिरुवा भएकाले बिरुवा तेत्ति राम्रो थिएन । त्यही जतनसाथ बटुलबाटुल गरेर बारीमा रोपिन् । अहिले उनको बारीमा ५७ बोट कफी फुलेका छन् । राम्रा विरुवा रोप्नेको भन्दा आफ्नो बारीका बिरुवा फस्टाएको देखेर उनी दंग छिन् । छोरासंग भिडियो च्याट गर्दा देखाउने विषय कफी बनेको छ ।
‘छोराले पनि कफी खेती गर्ने, कफी प्रशोधन गर्ने, बनाएर खाने, बेच्ने तरिका सिकाइदिन्छु भनेको छ’, खुशी बाँड्दै उनी भन्छिन्, ‘यसबाट राम्रो कमाइ भएपछि अब नयाँ घर बनाउने धोको छ ।’ उनको पसिनामा कफी फस्टाएको देखेपछि एकिकरण नेपालले उनलाई पनि तालिम, प्रशिक्षण, अभिमुखीकरण कार्यक्रमहरुमा समेट्ने गरेको छ । उनले उत्पादन गरेको कफी किनिदिने जनाएको छ ।
कफीखेतीमा व्यस्त हुनुअघि उनी रातभरि रक्सी पार्थिन् । रक्सीको कमाइले गृहस्थी धानेकी थिइन् । अहिले उनको व्यस्त हुने काम फेरिएको छ । उनलाई श्रीमानले छाडेको करिब १० वर्ष भयो । चन्द्रमाया एक्लैले दुःख गरेर घरगृहस्थी धानी रहेछी छिन् । छोरा–छोरीलाई बाउको अभाव खट्किन नदिन उनले दिनरात नभनी दुख गरिन् । उनको दुई छोरा र एक छोरी छन् । छोरी पनि भेटेनरीको पढाई सकेर लोकसेवाको लागि तयारी गरिरहेको उनले बताइन् । कान्छो छोरा १२ पास गरेर बसेका छन् । जेठो छोरो रोजगारीका लागि दुवईमा छन् ।
‘श्रीमान्ले छोडेर कान्छीसँग इन्डिया बसेको नि नौ, दस वर्ष भयो, ती दिनहरु सम्झिदा पनि आँखाभरि आँसु आउँछ’, उनी भन्छिन्, ‘बाउ नभएको भनेर छोराछोरी हेपिनु नपरोस्, बाउको मायाको अभाव नहोओस् भनेर दुख गरेर यिनलाई हुर्काएँ । रातभर झिमिक्क आँखा नलाई रक्सी पारेर, बेचेर यिनलाई स्कूल, कलेज पढाएँ । दिउँसोमा पनि कतै घर बनाउने काममा ढुङ्गा बोक्न जान्थेँ ।’
अहिलेको उनको दिनचर्या बदलिएको छ । ‘एक हलको मेलो जग्गामा ५७ वटा बेर्ना लगाएकी छु, । बाँकी एकहलको मेलो बारी छ त्यसमा नि कफी खेती गर्ने सोच बनाएकी छु’, उनले भनिन्, ‘कफीलाई छहारी चाहिँदो रहेछ, त्यसैले यसलाई छहारी दिन सुन्तला र जुनार हुर्काएकी छु ।’ कफी, सुन्तला र जुनार खेतीबाट राम्रो आम्दानी गर्ने सपना चन्द्रमायाले सजाएकी छिन् ।




