
धार्चे र चुमनुब्रीको सीमा विवाद मिलाउने भेला निश्कर्षबिहिन
उत्तरी गोरखाका दुई गाउँपालिका धार्चे र चुमनुब्रीको सीमा विवाद सतहमा देखिएको छ । चुमनुब्री गाउँपालिकाले जगतमा स्वागत द्वार बनाउने क्रममा धार्चेले यथार्थ सीमाना पत्ता लगाएर मात्र काम थाल्न आग्रह गरेपछि विवाद सतहमा आएको हो ।
विवाद साम्य पार्न धार्चे ३ र चुमनुब्री ३ का वडाअध्यक्ष सहितको स्थानीयबासीहरुको भेला भएको थियो । शनिबार आयोजना गरिएको भेलामा कुनै निश्कर्ष निस्कन नसकेपछि दुवै पालिकाका अध्यक्षसहित उपस्थित भएर अर्को भेला आयोजना गर्ने गरी टुङ्गिएको धार्चे ३ का वडाअध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए ।
सीमा विवाद नटुङ्गिपछि धार्चे ३ का बासिन्दाले जगत बगरमा बालुवा उत्खनन गर्न रोक लगाएका छन् । चुमनुब्री ३ का बासिन्दाले निजी घर तथा पाङसिङ स्वास्थ्य संस्थाको भवन निर्माण गर्न जगत बगरमा बालुवा उत्खनन गरिरहेका थिए ।
भेलामा धार्चे ३ का बासिन्दाले भालुवनसम्म धार्चेको सीमाना दाबी गरेका वडाअध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए । ‘परापूर्व कालदेखि नै दूधपोखरी खोलासम्म धार्चे ३ को सीमाना हो भन्ने बुढापाकाको दाबी छ ।
अहिले स्वागत गेट बनाउनुभन्दा अघि नै यथार्थ साँध, सीमाना टुंग्याउनु पर्छ भन्ने हाम्रो सुझाव हो’, उनले भने, ‘तर शनिबारको भेलामा समझदारी बन्न सकेन । अब दुवै गाउँपालिकाका अध्यक्ष र एमक्यापसहितको भेला बोलाउने र छलफल गरेर टुङ्ग्याउने समझदारी भएको छ ।’ हिमालदेखि दूधपोखरी खोलाको साँधसाँधै बूढीगण्डकी नदीसम्म धार्चेको सीमाना रहेको उनको दाबी छ । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले भने नुर्बुभ¥याङदेखि नै मनास्लु क्षेत्र सुरु हुने भन्दै त्यहीँदेखि साइनबोर्ड राखेको छ ।
चुमनुब्रीले भने यसअघिदेखि प्रचलनमा आएको नुर्बुभ¥याङ चौतारा नै दुई पालिकाको सीमाना रहेको दाबी गरेको छ । ‘हामीले थाहा पाएदेखि नै नुर्बुभ¥याङ चौतारा साँध हो । बूढापाका पनि त्यही भन्छन्’, वडाअध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘नक्सा हेर्दा पनि साँध त्यहाँ नै देखाउँछ । तर धार्चेका साथीहरु मान्न तयार हुनुहुन्न । सल्लेरीसम्म धार्चे हो भन्ने दाबी गरिरहनुभएको छ ।’ धार्चेको नयाँ दाबी मनासिब नभएको उनको दाबी छ । दुवै पक्ष एक अर्काको तर्कमा सहमत हुन नसकेपछि भेला बिना निश्कर्ष टुङ्गिएको छ । टुंगो नलागेसम्म जगतसम्मको नदीजन्य पदार्थ(ढुंगा, गिटी, बालुवा) पनि कसैले उपभोग गर्न नपाउने समझदारी बनेको छ ।




