| आइतवार, कार्तिक २२, २०८३

गोरखाका चार सडक कालोपत्रेको काम अघि बढ्यो

गोरखाका चार सडकखण्ड कालोपत्रेको काम अघि बढेको छ । रामशाहघाट मनकामना जुम्लिचौतारा तिनमाने सडक, सातदोवाटो जोगिडी बागडाँडा पन्थिनी गाइखुर सडक, बिमलनगर पौवाटार ठाटीपोखरी केरावारी दुधपोखरी सडक र धावा कोयाभन्ज्याङ भीमसेन थापा वडा नम्वर ४ र २ जोड्ने सडक कालोपत्रेको काम अघि बढेको गोरखा सडक योजनाले जनाएको छ ।

‘रामशाहघाट मनकामना खण्डमा तीन किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको हो,’ कार्यालय प्रमुख अमिन्द्र खड्काले भने, ‘ठेक्का रकम ६ करोड ९१ लाख रहेको छ ।’ देव बिष्णु–सोवित–बिराट विल्डर्स जेभी आरुघाटसँग ठेक्का सम्झौता भएको उनले बताए ।

सातदोवाटो जोगिडी बागडाँडा पन्थिनी गाइखुर खण्डको पनि तीन किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको उनले जानकारी दिए । अमृत–समृद्धि जेभी ललितपुरसँग ठेक्का सम्झौता भएको जानकारी गराउँदै उनले ठेक्का रकम ५ करोड ८३ लाख ९२ हजार रहेको बताए ।

बिमलनगर मौवाटार ठाटीपोखरी केरावारी दुधपोखरी सडकलाई दुई खण्ड बनाएर कालोपत्रे गर्न लागिएको कार्यालयले जनाएको छ । ‘स्तरोन्नती गर्ने खण्डको बारेमा विवाद भएपछि भण्डारथोक हुदैँ वयापानी जोड्ने र ठाटीपोखरी मगरगाउँ पानी ट्यांकी हुदैँ डुम्रिडाँडा जोड्ने दुवै खण्डलाई स्तरोन्नती गर्ने निर्णय गरेका हौ,’ कार्यालय प्रमुख खड्काले भने ।

दुवै खण्डको २.५/२.५ किमी गरी कुल ५ किमी सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएर काम अघि बढेको उनले बताए । काठमाडौंको सक्षम/एसबिएसी जेभीसँग ७ करोड २ लाख मा ठेक्का सम्झौता भएको उनले जानकारी दिए । त्यस्तै, धावा कोयाभन्ज्याङ भीमसेन थापा वडा नम्वर ४ र २ जोड्ने खण्डको तीन किमी सडक कालोपत्रे हुने बताइएको छ ।

आरुघाटको देव बिष्णु–सोवित–बिराट विल्डर्स जेभीसँग ठेक्का सम्झौता भएको हो । ठेक्का रकम ६ करोड ४२ लाख ९७ हजार रहेको छ । बहुबर्षिया यी चार वटै योजनाको गत आर्थिक बर्ष ठेक्का सम्झौता भएर काम अघि बढेको कार्यालयले जनाएको छ । दुई बर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्