
उत्तरी गोरखाको गुम्दा पुग्यो यात्रुवाहक बस
नियमित सञ्चालन हुनेगरी उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । ग २ ख १४९७ नम्वरको यात्रुवाहक वस वुधवार लाप्राक हुदैँ गुम्दा पुगेको हो । बस पुगेको खुशीयालीमा स्थानीयले चालक गोपाल श्रेष्ठलाई फुलमाला लगाएर सम्मान गरेका छन् ।
‘यसअघि दुई पटक बस आएको थियो,’ वडाध्यक्ष भीमप्रसाद गुरुङले भने, ‘त्यसपछि अहिले हो आएको ।’ दशै अघिदेखि बस ल्याउन पहल गरेको बताउँदै उनले पालिकाले लाप्राकदेखि गुम्दासम्मको सडक सरसफाइ समेत गरेको जानकारी गराए । केही ठाउँमा अझै सडक मर्मत गर्नुपर्ने उनको भनाइ छ । बस पुगेसँगै स्थानीय खुशी छन् ।
महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता हटेको उनीहरुले बताए । ‘जीप भाडा महँगो भयो भन्ने गुनासो पनि आइरहेको थियो, अब बस चल्न थाल्यो, सजिलो भयो,’ उनले भने । गुम्दा, लप्सीबोट, यमगाउँ लगायतका स्थानीयलाई थप सहज भएको उनले जानकारी दिए । अवदेखि गुम्दा काठमाडौं नियमित बस सेवा संचालन हुने बताइएको छ ।




