
माओवादीले किर्ते हस्ताक्षर गरी फर्जी विज्ञप्ति निकालेको भन्दै एमालेको आपत्ति
गोरखा नगरपालिका ५ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आइतवार दिउँसो राजनीतिक संयन्त्रसहितको सर्वपक्षीय बैठक बस्दै थियो ।
उपनिर्वाचन आचारसंहिता अनुगमन समितिद्वारा आयोजित उक्त बैठकमा निर्वाचन आचारसंहिताबारे छलफल हुदै गर्दा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र थापाले एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका खड्कबहादुर भुजेलले माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको भनी माओवादीले गलत प्रचार गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘एमालेलाई समर्थन गर्छु भन्दै उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो तर, उहाँको किर्ते हस्ताक्षर गरेर माओवादीले हामीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो भनी दुश्प्रचार ग¥यो ।’ यो आचारसंहिता अन्तरगत पर्ने नपर्ने भन्ने प्रश्न गर्दै उनले यस बिषयमा के हुन्छ ? भनेर समितिलाई प्रश्न समेत गरे । एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएपनि भुजेलले पछि उम्मेदवारी फिर्ता लिएका थिए ।
सोही दिन उनको नाममा प्रेस बिज्ञप्ती जारी भएको थियो । भुजेलको हस्ताक्षर समेत रहेको उक्त बिज्ञप्तीमा माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने आफ्नो पार्टीको निर्देशन अनुरुप उम्मेदवारी फिर्ता लिएको भनिएको छ । तर एमाले जिल्ला अध्यक्ष थापाले माओवादी आफैले भुजेलको फर्जी हस्ताक्षर गरी बिज्ञप्ती जारी गरेको जिकिर गरे ।
एकीकृत समाजवादीका उम्मेद्वार भुजेलले माओवादीलाई समर्थन गर्ने भनेर आफूले कुनै कागजमा हस्ताक्षर नगरेको बताए । ‘मेरो खुशीले उम्मेदवारी फिर्ता लिएँ, माओवादी साथीहरुसँग मेरो सम्पर्क भएको पनि छैन,’ उनले भने, ‘मैले सही पनि गरेको छैन, त्यो मेरो किर्ते सही हो ।’ एमालेका उम्मेद्वार दुर्गामाया थापा राना नाताले बुहारी समेत पर्ने भएकाले उनलाई समर्थन गर्न आफूले उम्मेदवारी फिर्ता लिएको उनले जानकारी गराए ।
बैठकमा माओवादी केन्द्रका ध्रुव भट्टले यस बिषयलाई ठूलो नबनाउन भन्दै बचाउ गरे । बिज्ञप्तीमा भुजेल आफैले हस्ताक्षर गरेको दावी गर्दै उनले भने, ‘यदि फर्जी हो भने उहाँले होइन भनेर आफ्नो धारणा सार्वजनिक गरे भइहाल्यो, ठुलो नबनाम यो कुरालाई ।’
बैठकमा नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले अशक्त मतदातालाई मतदान स्थलसम्म जानका लागि सवारी साधन निर्वाचन आयोग आफैले व्यवस्था गरिदिन आग्रह गरे । मौन अवधिभर उक्त वडामा बाहिरी वडाका मान्छेलाई प्रवेशमा रोक लगाउन पनि उनले सुझाव दिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले समय र स्थान जुध्ने गरी कोणसभा र चुनावी प्रचार प्रसारका कार्यक्रम नगर्न दलहरुलाई आग्रह गरे । ‘गण्डकी प्रदेशको एक मात्र चुनाव यहाँ भएकाले यसलाई उदाहरणीय बनाऔ,’ उनले भने । चुनावलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न आइतबारबाट सुरक्षाकर्मीको गस्तीलाई बढाइएको उनले जानकारी दिए ।
बैठकमा सहभागीहरु दलहरुले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचनका दिन उम्मेदवारले गाडी प्रयोग गर्न पाउनुपर्ने उनीहरुको माग छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश शिवबहादुर रानाभाटले यस बिषयमा आवश्यक छलफल गरि टुंगो लगाउने बताए ।
यही मंसिर १६ गते हुने वडाध्यक्ष पदका लागि नौ दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुदैछ । कुल दश जनाको उम्मेदवारी परे पनि एकीकृत समाजवादीका उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका हुन् ।




