
माघ फागुनदेखि शक्तिशाली आन्दोलन गर्नुपर्ने हुनसक्छ : प्रचण्ड
पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आगामि माघ, फागुनदेखि काठमाडौँ केन्द्रित शक्तिशाली आन्दोलन गर्ने संकेत गरेका छन् । नेकपा माओवादी केन्द्र गोरखाले बिहिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आउँदो पुस २ गते बस्ने बैठकले यसबारेमा टुंगो लगाउने बताए ।
‘केन्द्रीय कमिटीको बैठक आउदो पुस २ गते राखेका छौँ । देशभर खबरदारी सभाद्वारा वार्मअप गर्ने, जरुरी प¥यो भने काठमाडौँ केन्द्रित शक्तिशाली आन्दोलन जानु पर्ने हुनसक्छ । बाहिरको आन्दोलनले शासकहरुलाई खासै छुन सकेको छैन’, उनले भने, ‘त्यसैले राजधानीमा आन्दोलनद्वारा अस्तव्यस्त बनाएपछि मात्रै विगतमा पनि राजनीतिक परिवर्तन सम्भव हुने गरेको थियो । त्यसकारण त्यसको तयारीमा र पार्टी रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने छ ।’
साथै उनले कांग्रेस एमालेको वर्तमान गठबन्धन भत्काउने र नयाँ सरकार बनाउने हतारोमा आफू नरहेको बताएका छन् । आफूहरु जनतामै जानु ठिक भएको उनको दाबी छ ।
‘प्रमुख प्रतिपक्षी भनेकै सरकारमा आउन तयार भएर बसेको दल हुन्छ । यो त संविधानले र अन्तर्राष्ट्रिय परम्पराले मानेको कुरा हो’, उनले भने, ‘तर अहिले हामीलाई सरकारमा जाने हतारोमा पनि छैनौँ । यो गठबन्धन भत्काउने खेलमा पनि छैनौँ । हामी जनतामै गएर आफूलाई सुदृढ गरेपछि हेरौँ न यिनीहरको सरकार कति दिन कसरी चल्दो रहेछ । यसलाई भत्काउने कुनै हतारोमा हामी छैनौँ ।’ प्रतिपक्षीहरु अहिले एकजुट भएको भन्दै उनले कांग्रेस र एमालेसंग भने कहीँ पनि तालमेल नगर्ने जिकिर गरे । ‘कांग्रेस र एमालेसंग हाम्रो कहीँ पनि तालमेल नगर्ने ब्ल्याक एण्ड ह्वाइट निर्णय हो । अर्काको खुट्टामा टेकेर चल्दा माओवादीकै पहिचान हरायो’, उनले भने, ‘अहिले जतिसुकै आओस्, हामी एक्लै भिड्ने हो । एक्लै भिड्दा नै माओवादीको असली पहिचान पनि देखिन्छ, तागत पनि देखिन्छ ।’ प्रतिपक्ष दलहरुलाई संरक्षण गर्ने जिम्मेवारी पनि आफूहरुको रहेको भन्दै उनले नयाँ आएका दलहरु, शक्तिहरुसंग मिल्न सक्ने उनले बताए । ‘काठमाडौँका मेयरसंग पनि हाम्रो राम्रो छ, धरानका मेयरसंग पनि राम्रै छ । राष्ट्रिय स्वतन्त्र पार्टीसंग पनि हाम्रो राम्रो छ । राम्रो गर्नु पनि पर्छ’, उनले भने ।




