| मङ्लबार, कार्तिक २४, २०८३

सरकारबाट हटेपछि पिडित भएको छैन ः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संघीयतालाई बेकार भन्नेहरुले संघीय व्यवस्थाको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । बुधबार गोरखामा आयोजित पर्यटन व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले संघीयता बेकार लाग्नेहरुले नै अहिले संघीय संरचनाको बाग्डोर सम्हालिरहेको आरोप लगाए । ‘तपाईहरुलाई कत्तिको सम्झना छ, हेक्का छ, अहिले सरकारको नेतृत्व गर्ने पार्टीका प्रमुख नेतृत्वकर्तालाई यो संघीयता, उतिबेले बेकारको चीज हो भन्ने लाग्थ्यो । यो समावेशी, समानुपातिक व्यवस्था वाइयात लाग्थ्यो’, उनले भने, ‘त्यसैले मैले चाहने वित्तिकै संघीय निजामति ऐन बनिहाल्ने, मैले चाहने वित्तिकै प्रहरी समायोजन ऐन कार्यान्वयनमा गइहाल्ने त्यति सजिलो थिएन । तैपनि मैले निकै ठूलो मिहिनेतबाट संघीय निजामति ऐन, प्रदेश प्रहरी ऐन सदनमा पेश गर्ने मै हो । अहिले पनि म के कुरा प्रष्ट पार्न चाहन्छु भने यो दुई ऐन पारित गर्ने व्यापक पहल गर्दा गर्दै पनि भएको छैन । विपक्षीमा भए पनि यी दुई ऐन छिटो पारित गरी छिटो कार्यान्वयन गर्न म तीब्र रुपमा लागिरहेको छु ।’ यसका लागि केही व्यूरोक्य्राटिक जटिलताहरु भने कायमै रहेको उनले बताए ।
साथैउनले आफू सरकारबाट हटेकामा पिडित नभएको बताएका छन् । सरकारबाट हट्दा जनतामा जाने अवसर पाएको तर्क गरे । ‘मलाई अहिले सरकारबाट बाहिर भए पनि पिडामाचाहिँ बिल्कुलै छैन है’, उनले भने, ‘कोही कसैले यो सरकारबाट हटेपछि पिडित भयो होला भन्ने ठान्नुहुन्छ होला । मचाहिँ छैन । यो विषयमाचाहिँ मैले साथीहरुलाई धन्यवाद भन्छु कि, जनतामा जाने अवसर जुटाइदिनु भएको छ । म अब गोरखामा अल्लि नियमित आउँछु र तपाईहरुसंग अन्तरक्रिया गरिरहन्छु ।’
विकास निर्माणको काममा पक्ष, प्रतिपक्ष हुन नहुने उनले बताए ।
आफू प्रतिपक्षमा भए पनि आफ्नो ध्यान प्रदेश संरचनालाई बलियो बनाउनमा, संघीय निजामति ऐनमा रहेको बताएका छन् । ‘संघीय निजामति ऐन पनि छिटो पारित होओस्, प्रहरी समायोजन ऐन पनि छिटो कार्यान्वयन होओस् र प्रदेश सरकार प्रभावकारी होओस् भन्ने मेरो तीब्र चाहना छ’, उनले भने, ‘किनभने त्यतिबेला संघ, प्रदेश र स्थानीय सरकारको अवधारणा हामीले अघि सारेको परिकल्पना हो, हामीले अघि सारेको अवधारणा हो । तसर्थ यी सरकारहरुलाई प्रभावकारी बनाएर जनतालाई सेवा दिने हाम्रो ऐतिहासिक प्रतिवद्धता हो ।’ सो जिम्मेवारी पूरा गर्नबाट आफूहरु पन्छिन पनि नसक्ने र नपन्छिने घोषणा उनले गरे ।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत वर्ष र यो वर्ष गरी गोरखामा ६१९ करोडको बजेट बिनियोजन गरेको बताएका छन् । ‘तलव भत्ता बाहेक गत वर्ष र यो वर्ष गोरखामा ६१९ करोड बिनियोजन गरेको छु’, उनले भने, ‘सबैभन्दा धेरै रकम पुर्वाधारमा खर्च भएको छ । तर, संघ सरकारले निति नबनाइदिँदा प्रदेशले आफ्नो अधिकार प्रयोग गर्न नपाएको अवस्था छ ।’ संघले प्रदेशलाई नीतिगत रुपमा हस्तक्षप गर्न पाउने अधिकार दिनुपर्ने माग उनको छ ।
यसैगरी, उनले पर्यटन र कृषि क्षेत्रलाई सँगै जोडे मात्र आर्थिक समुन्नती सम्भव हुने बताए । जिल्लामा कति पर्यटन आए भन्दापनि पर्यटनले कति खर्च गरे भन्ने कुरा महत्वपुर्ण रहेको उनले बताएका छन् । भेलाले पर्यटन प्रवद्र्धनका लागी स्थानीय सरकार, प्रदेश सरकार र पर्यटक व्यवसायीहरुले के के गर्नु पर्छ भनेर निष्कर्ष निकाल्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा जिल्लाको इतिहासका जानकार नवराज अधिकारीले पर्यटन क्षेत्र प्रवद्र्धनका विषयमा आफ्नो प्रस्तुतिकरण गरेका थिए ।
जिल्ला होटल संघका अध्यक्ष केशव कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय सांसद हितराज पाण्डे, टानका अध्यक्ष सागर पाण्डे, गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, मन्त्री रामशरण बस्नेत, गोनपाका मेयर कृष्ण राना, पूर्वमेयर राजनराज पन्त लगायतले आफ्नो धारण व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्