| आइतवार, कार्तिक २२, २०८३

बजारमा छ्यापछ्याप्ति काँचो सुन्तला

गोरखाबजार लगायत आसपासका बजारमा अहिले छ्यापछ्याप्ति काँचो सुन्तला राखेर बेच्न थालेका छन् । गोरखाको मुग्लिन, आँबुखैरेनी बजारमा पनि ‘गोरखाको’, ‘मनकामनाको’ भन्दै रस र रङ परिपक्क नहुँदैको सुन्तला बेच्न थालेका हुन् ।
हरियो सुन्तला बजारमा प्रतिकिलो १३० देखि १५० रुपैँयासम्मा धमाधम बिक्री भइरहेको छ । यो बेला महङ्गो रेटमा बेच्न पाउने भएकाले बेला नहुँदै सुन्तला टिपिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गोरखाकी प्रमुख पूर्ण ढुङ्गानाले बताइन् ।
‘यो बेला रेट पनि बढी गराउन पाइन्छ, ग्राहकहरु इन्डियन सुन्तला आएर दिक्क भएको बेला हाम्रै स्वदेशी सुन्तला पाउँदा जो कोहीले किन्ने भयो त्यसैले पनि बेलै नपुगी टिपिएको हो’, उनले भनिन् । सुन्तलामा हुने ‘सुगर कन्टेन्ट’ सामान्य नभई सुन्तला उपभोग गर्न नहुने बताउँदै उनले अझैँ १०–१२ दिन बगैँचाका सुन्तला नटिप्न सुझाव दिएकी छिन् ।
‘मान्छेहरुले यो चिज बुझेकै छैनन्, केही समय पर्खिए यसको तौल पनि बढ्थ्यो, सुन्तलामा गुलियोपन पनि वृद्धि हुन्थ्यो’, उनले भनिन् । सुन्तला टिप्नका लागि मंसिर १५ को समय उपयुक्त हुने उनले बताइन् । बजारका चाँडै सुन्तला आउनुको प्रमुख कारण ठेकेदार र बाँदरको आतङ्क रहेको उनले बताएका छन् ।
कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले पनि बजारमा समय अगावै सुन्तला आएको आफूले पनि देखेको बताएका छन् । ताजा खपतका लागि सुन्तलाका ५० प्रतिशतभन्दा बढी भाग पहेलो हुनुपर्ने उनले बताएका छन् । त्यस्तै, भण्डारणका लागि २५ प्रतिशतभन्दा बढी भाग पहेँलो हुनुपर्ने उनको भनाइ छ ।
गोरखाको गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडाहरु र पालुङटार नगरपालिकाको वडा नं ९ र १० लाई सुन्तला जोन घोषणा गरिएको छ । करोडौँ रकम खर्च भएको सुन्तला जोनमा उत्पादन भने घट्ने अनुमान छ । सुन्तलाका लागि प्रख्यात मनकामना क्षेत्रमा उत्पादनको क्रम घटेको हो । यकिन डाटा भने आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्