
सरकारका प्रवक्तालाई प्रश्न : हतारहतार आजै शोक बिदा किन ?
धेरैजसो सरकारी कर्मचारीहरु आज बिहान कार्यालय प्रस्थान गरिसकेका थिए । कतिपय कार्यालयमै पुगिसकेका थिए । विद्यालयहरु त बिहानैदेखि खुलिरहेकै थिए ।
बैंकलगायतका अन्य निजी तथा सार्वजनिक संस्थाहरु पनि कर्मचारीहरु आउने क्रम जारी थियो । तर, आज बिहान सरकारले एक्कासी देशभर सार्वजनिक बिदा दिने निर्णय गर्यो ।
बिहान नौ बजे बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने भनेर निर्णय गर्यो ।
यो निर्णय सार्वजनिक हुँदा कर्मचारीहरुमा अलमल देखियो । कर्मचारी कार्यालय पुगेर काम सुरु गरिसक्दा सरकारको बिदासम्बन्धी निर्णय सार्वजनिक भएपछि खुलिसकेका कार्यालय बन्द हुन पुगे । आइसकेका कर्मचारीलाई काममा लगाउने कि खुलेका कार्यलय बन्द गरेरै भए पनि सरकारको निर्णय मान्ने भन्ने अन्यौल देखिन्थ्यो ।
अधिकांश निजी विद्यालयहरु भने ढिलो प्राप्त सूचनाका कारण खुलै रहेका छन् ।




