| मङ्लबार, कार्तिक २४, २०८३

धार्चे आधारभूत अस्पताल निर्माणमा सघाउनेलाई पालिकाद्वारा सम्मान

धार्चे गाउँपालिकाले धार्चे आधारभूत अस्पताल निर्माणमा सघाउने विदेशी दाताहरुलाई सम्मान गरेको छ । शुक्रबार खोर्लाबेशीस्थित नवनिर्मित आधारभूत अस्पतालमा एक समारोह आयोजना गरी प्रसंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
धार्चे गाउँपालिकाको कार्यालय र छायाँ नेपालको दातृ संस्था स्वीट्जल्याण्डको अर्थ सी एयर नामक संस्थाको साझेदारीमा खोर्लाबेशीमा आधारभूत अस्पताल निर्माण भएको छ । ‘आउँदो बुधबार अस्पतालको उद्घाटन समारोह छ । सोही कार्यक्रमलाई मध्यनजर गरी अर्थ सी एयरका २२ जना दाताहरु आउनुभएको थियो । उहाँहरुमध्य १९ जना उद्घाटन कार्यक्रममा बस्न नभ्याउने हुनाले उहाँहरुलाई शुक्रबार सम्मान ग¥यौँ’, अध्यक्ष गुरुङले भने, ‘बाँकी तीनजना र अस्पताल निर्माणमा महत्वपूर्ण व्यक्तिहरुलाई उद्घाटनका दिनमा सम्मान गर्नेछौँ ।’ साथै उनीहरुलाई स्थानीय हस्तकलाका सामग्रीहरु उपाहारस्वरुप प्रदान गरिएको उनले बताए ।
दुर्गम भेगमा अस्पताल स्थापना गरी सेवा दिने सो संस्था र दाताहरुको पालिका अध्यक्ष गुरुङले प्रसंसा गरेका थिए । कार्यक्रममा बोल्दै स्वीस डाक्टरले अर्थ सी एयरका संस्थापक डानियल ब्रुनरको योगदान स्मरण गरेका थिए । स्वीस पाइलट डानियल २०७२ सालको भूकम्पका बेला उद्धारका लागि धार्चे आएका थिए । उनले यहाँको आवश्यकता र स्थानीयको मागलाई सम्बोधन गर्न आफ्ना साथीहरुसंग अर्थ संकलन गरी धार्चेका विभिन्न ठाउँमा स्वास्थ्यचौकी, विद्यालय र अहिले गाउँपालिकास्तरको आधाभूत अस्पताल निर्माण गरेका थिए । तर नवनिर्मित अस्पतालमा आउन नपाई केही समयअघि उनको मृत्यू भएकाले उनले दुख ब्यक्त गरेका थिए ।
उपस्थित अतिथिहरुलाई स्थानीय गीत, नाच पनि प्रदर्शन गरिएको थियो ।
गाउँपालिकासंग साझेदारी गरी अर्थ सी एयरले खोर्लाबेशीमा आधारभूत अस्पताल निर्माण गरेको छ । सो अस्पतालमा २४ घण्टा आपतकालीन सेवाहरू, सामान्य चिकित्सा सेवा र सामान्य ओपीडी, प्रसुति सेवा, प्रयोगशाला र प्याथोलोजी प्रयोगशाला, सुई तथा खोप, दन्त सेवाहरू, एक्सरे, भिडियो एक्सरे, औषधि सेवा र फार्मेसी, आधुनिक प्रविधिद्वारा संचालित घर दैलो स्वास्थ्य सेवा कार्यक्रम, घरदैलो स्वास्थ्य सेवा, पोस्टमार्टम र शवपरीक्षण सेवाहरू यहाँबाट उपलब्ध हुने चिकित्सक शेरमान गुरुङले जानकारी दिए ।
यसअघि अर्थ सी नेपालले ईच्छा आधारभूत विद्यालय हुल्चुक, शिव आधारभूत विद्यालय केरौजाबेसी, मञ्जुश्री उच्च माध्यमिक विद्यालय काशिगाउँ निर्माण गरेको थियो । त्यस्तै मान्बु पात्लेखर्कको बालकल्याण आधारभूत विद्यालय, पात्लेखर्ककै स्वास्थ्य इकाई र स्थानीयबासीका लागि १५ वटा आवासीय घर निर्माण गरेको थियो भने चुम्चेतको चुम्लिङ आधारभूत विद्यालय पनि निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्