
ढुंगेटारीमा पुल निर्धारित समय अगावै सम्पन्न हुने अनुमान
१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको पालुङ्टार नगरपालिका ९ ढुंगेटारीको मोटरेबल पुल सम्झौता मिति अगावै सम्पन्न हुने अबस्थामा छ । श्रीगणेश अमृत जेभी निर्माण कम्पनीले सात महिनामै ६० प्रतिशतभन्दा धेरै प्रगति गरिसकेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।
‘वारिपारि दुवैतिरको जीपको काम सक्किसकेको छ । सपोर्टिङ वालहरु पनि बनेको छ । अब स्ल्याब ढलान मात्र बाँकी छ’, कार्यालय प्रमुख गणेश सुवेदी भन्छन्, ‘स्ल्याब ढलानका लागि पनि धमाधम सर्टिङको काम भइरहेको छ । स्ल्याब ढलान गरेपछि त सम्पन्न भइहाल्यो ।’
सो पुल निर्माणको काम गत वैशाख ५ गतेबाट आरम्भ भएको हो । ‘बैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन । कात्तिक लागेपछि धमाधम काम भएको छ । कुनै अकल्पनीय समस्या आइपरेन भने अब एक, दुई महिनाभित्रै काम सम्पन्न हुन्छ ।’ १८ महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि सात, आठ महिनाभित्रै काम सम्पन्न गर्नु ज्यादै खुशीको कुरा भएको उनको भनाइ छ ।
राम्रो काम गर्नेको प्रसंसा गर्नुपर्ने कार्यालयको भनाइ छ । ‘यहाँ त पाँचबर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरणहरु छन्’, पूर्वाधार कार्यालय प्रमुख सुवेदी भन्छन्, ‘तर ढुंगेटारी पुल यति छिटो बन्नु प्रसंसनीय काम हो । यसरी नै सबै योजनाहरु बन्ने हो भने जिल्लाको विकास धेरै तिब्र गतिमा हुन्थ्यो ।’
२५ मिटर लामो र ८.४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुंगेटारीस्थित खारखोलाको पुल दुईकरोड ७५ लाख रुपैयाँ लागतमा बन्न लागेको हो । सो पुल निर्माणका लागि श्रीगणेश अमृत जेभी कम्पनीले गत चैत २७ गते सम्झौता गरेका थिए ।
पुल निर्माणको काम निकै उत्साहजनक रहेको कार्यालयले जनाएको छ ।




