
खटिए स्थानीय पथप्रदर्शक
पर्यटकलाई लक्षित गरी गोरखा नगरपालिकामा स्थानीय पथ प्रदर्शक (लोकल टुरिष्ट गाइड)हरु खटिएका छन् । मंगलवारबाट औपचारिक रुपमा उनीहरु सेवामा खटिएका हुन् । भ्रमण बर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले केही समयअघि उनीहरुलाई तालिम दिएको थियो । ४० जनाले तालिम लिएका मध्ये अहिले २० जना सेवामा खटिएका छन् ।
सेवाका लागि उनीहरुले सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् । गोरखा दरवार नजिकै स्थापना भएको उक्त कार्यालयको मंगलवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले कार्यालयको उद्घाटन गरेका हुन् ।
‘गाइड चाहिएमा पर्यटकहरुले हाम्रो यो कार्यालयमा जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुन्छ,’ स्थानीय पथ प्रदर्शक समिति अध्यक्ष थिरभक्त श्रेष्ठले भने, ‘उहाँहरुको आवश्यकता अनुसार हामी गाइड उपलब्ध गराउँछौ ।’ पर्यटकका लागि तीन वटा प्याकेज बनाइएको जानकारी गराउँदै उनले थपे, ‘एउटा प्याकेज तीन घण्टाको छ, अरु एक दिन र दुई दिनको छ । पर्यटकले आफ्नो इच्छा अनुसार प्याकेज छान्न सक्नुहुन्छ ।’
समितिले प्याकेज अनुसार शुल्क पनि निर्धारण गरेको छ । तीन घण्टाको प्याकेजका लागि एक हजार, एक दिनको दुई हजार र दुई दिनको पाँच हजार शुल्क निर्धारण गरिएको समिति अध्यक्ष श्रेष्ठले जानकारी दिए । पर्यटकको संख्या अनुसार रकम फरक पर्ने उनले बताए । पर्यटकबाट उठेको रकमको दश प्रतिशत संस्थामा राखिने बताइएको छ ।
पथ प्रदर्शक चाहने पर्यटकलाई सेवा दिइने बताउँदै श्रेष्ठले भने, ‘टुरको गाडी अथवा कोही पर्यटक आउनुभयो भने हामी गाइड चाहिन्छ भनेर सोध्छौ । उहाँहरुले चाहिन्छ भन्नुभयो भने मात्र हामी सेवा दिन्छौ, जवरजस्ती गर्दैनौ ।’ पर्यटकलाई पर्यटकीय स्थलको अवलोकनसँगै त्यसको धार्मिक र ऐतिहासिक महत्वबारे पनि जानकारी गराइने उनले बताए ।
उनका अनुसार पथ प्रदर्शकलाई थप दक्ष बनाउन धार्मिक एवं पर्यटकीय स्थलको इतिहासबारे पढाउने काम समेत भइरहेको छ । पुरातत्व बिभागद्धारा प्रकाशित सम्बन्धित स्थलको इतिहास र महत्व उल्लेख भएका पुस्तकहरु पनि अध्ययन गर्न लगाइएको छ । पर्यटकलाई पर्यटकीय स्थल घुमाउनुको साथै गोरखाको इतिहास बुझाउने काम पनि आफूहरुले गर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बसपार्क आसपास पनि सम्पर्क कार्यालय स्थापना गर्न सुझाव दिएका थिए ।




