
बगुवाको स्वास्थ्य चौकी भवन हस्तान्तरण
भिमसेनथापा गाउँपालिका–५ वगुवाको ‘बगुवा स्वास्थ्य चौकी’ भवन हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच निर्माण कम्पनीले स्वास्थ्य चौकी इन्चार्ज राजु श्रेष्ठ र वडाअध्यक्ष होम बहादुर बरामुलाई संयुक्त रुपमा भवन हस्ताँतरण गरेको हो । वडाको स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाहमा धेरै सहजता आउने वडाअध्यक्ष वरामुको भनाइ छ ।
जाइकाले निर्माण गरिदिएको सामुदायिक भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बगुवा स्वास्थ्य चौकीलाई आफ्नै भवन निर्माण भएसँगै धेरै राहत पुगेको उनी बताउँछन् । ‘पहिला सामुदायिक भवनबाट स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता थियो, अब आफ्नै भवन भएपछि हामीलाई धेरै राहत पुग्नेछ’, उनले भने । नवनिर्मित स्वास्थ्य चौकी भवनमा आँखा सेवा केन्द्र समेत संचालनमा आउन लागेको उनले जानकारी दिएका छन् ।
‘यो भवन संचालनमा आएसँगै यहाँ आँखा सेवा केन्द्र समेत संचालनमा आउनेछ, त्यसका लागि डाक्टर पनि आइसक्नुभएको छ’, उनले भने, ‘लायन्स क्लव अफ गोरखा र पािलकाको संयुक्त साझेदारीका आँखा सेवा केन्द्र संचालनमा आउन लागेको हो ।’ नयाँ भवनबाट छिटै सेवा प्रवाह गर्ने गरी काम भईरहेको उनले बताएका छन् ।
पालिका अध्यक्ष लोक प्रसाद बञ्जरा, पालिकाको स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल, इन्जिनियर विरबल श्रेष्ठ लगायतको उपस्थितिमा भवन हस्तान्तरण गरिएको बताइएको छ ।




