
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा पालुङटारका मरहट्टा नियुक्त
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा गोरखाको पालुङटार नगरपालिका–९ मिरकोटका प्राध्यापक डाक्टर मोदनाथ मरहट्टा नियुक्त भएका छन् । उनलाई काठमाडौं विश्वविद्यालयले आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका डा मरहट्टालाई शुक्रबार कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराएका हुन् ।
कलेजका अस्पताल निर्देशकका रूपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाइलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उनको प्रतिबद्धता छ ।
यसअघि प्राडा प्रमोदकुमार क्षेत्री सो कलेजको प्रिन्सिपलको भूमिकामा थिए । पारिवारिक कारणले उनले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो ।




