| मङ्लबार, कार्तिक २४, २०८३

मुग्लिन पोखरा सडकको ६३ किलोमिटर कालोपत्रे

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २० किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्रे गरिएको छ ।तिहारको समयमा पनि काम निरन्तर सञ्चालन भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

‘यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ । चाडबाड सकियो अब निर्माणले झन् गति लिन्छ’ उनले भने । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ को दमौली बजार र व्यास–५ को चापाघाट जोड्ने मादी नदी पुलको निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको उनले जानकारी दिए ।

तीन सय १५ मिटर लामो यस पुल ‘आर्क डिजाइन’ को चार लेनको हुनेछ । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल डिजाइन गरिएको छ । पर्यटक पनि आकर्षित गर्ने भनी कलात्मक निर्माण गर्न लागिएको ठेकेदार कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिए ।

पुलको सातवटा ‘फाउन्डेसन’ निर्माण गरिएको छ । हालः पानीमुनि पाइलिङ, पाइल क्याप र पिलरको काम पूरा गरी पानीमाथि ‘सुपर स्ट्रक्चर’ निर्माण भइरहेको छ । हालः रहेको दुई लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार नेपालमै पहिलोपटक चार लेनको पुल निर्माण भइरहेको र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।
निर्माणाधीन सोही पुल नजिक दुई लेनको तीन सय ७० मिटर लामो पुलबाट हालः सवारी आवतजावत भइरहेका छन् । कूल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन–पोखरा सडकको विस्तार विसं २०७८ वैशाखदेखि सुरु भएको हो ।

हालः उक्त राजमार्ग दुई लेनको छ । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने)को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा)को लम्बाइ ३९.५५ किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्