
गोनपामा ‘विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना’ शुभारम्भ
गोरखा नगरपालिकामा विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना शुभारम्भ भएको छ । धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङ (डिसीआरडिसी)को आयोजनामा बुधबार एक कार्यक्रमका बीच परियोजनाको शुभारम्भ भएको हो ।
गाउँ–गाउँमा विद्युतीय चुलो पु¥याएर एलपीजि ग्यासको आयत कम गर्ने साथै दाउराको धुँवाबाट सिर्जित रोग न्युनिकरण गर्ने उद्देश्यसहित गोरखा नगरपालिकामा परियोजना शुभारम्भ गरिएको डिसीआरडिसीकी अध्यक्ष सिर्जना थापाले बताइन् ।
‘नेपालमा वर्षेनी ३५ अर्ब बराबरको इन्धन (एलपीजि ग्याँस) आयात हुन्छ, यसलाई कम गरी आफ्नै देशमा उत्पादित विद्युतीय उर्जाको सदुपयोग गर्ने उद्देश्य सहित यो परियोजना ल्याइएको हो’, उनले भनिन्, ‘यस्तै घरभित्रको धुँवाका कारण लाग्ने सुजित रोगका कारण हरेक वर्ष २२ हजार ८०० जनाले ज्यान गुमाइरहेको अवस्था छ । यसलाई केही हदसम्म भएपनि न्युनिकरण गर्ने भनेर यो कार्यक्रम ल्याएका हौँ ।’ संस्थाले गण्डकी प्रदेशको गोरखा लगायत ४ जिल्लाहरुमा विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना संचालन गरिरहेको उनले बताइन् ।
विद्युतीय चुलो ग्यास र दाउराको तुलनामा सुरक्षित र सहुलियतपूर्ण हुने भएकाले यसको प्रयोगलाई प्रवद्र्धन गर्न जरुरी रहेको डिसीआरडिसीसँग साझेदारीमा काम गरिरहेको संस्था प्राक्टिकल एक्सनका सिनियर प्रोग्राम अफिसर हिमाल चौलागाईले बताए । विद्युतीय चुलोले एलपी ग्यासको तुलनामा ४२ प्रतिशत कम इन्धन खपत गर्ने पनि उनले जानकारी दिए । दाउरा र ग्यास चुलोको नकरात्मक असरहरु न्युनिकरण गर्ने उद्देश्य सहित विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना संचालन गर्न लागिएको उनले जानकारी दिए ।
परियोजना अन्तरगत संस्थाले आफ्नो लक्षित वर्गहरुलाई विद्युतीय चुलो खरिदमा अनुदान दिने कार्यक्रम रहेको छ । स्थानीय सरकार र व्यवसायीहरुसँगको सहकार्यमा परियोजना संचालन गर्न लागिएको डिसीआरडिसीले जनाएको छ । हाल गोरखा नगरपालिकाको १ देखि ८ नंम्वर वडासम्म उक्त परियोजना संचालन भइसकेका छन् । ९ देखि १४ नंम्वर वडासम्म भने कार्यक्रम संचालन गर्न बाँकी रहेको बताइएको छ । ३ वटा वडाहरुमा भने चुलो वितरणको काम समेत भइसकेको संस्थाको भनाइ छ ।
डिसीआरडिसीकी अध्यक्ष सिर्जना थापाको अध्यक्षता एवं गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा सम्पन्न परियोजना शुभारम्भ कार्यक्रममा उपमेयर मसलीमाया थोकर, सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, विद्युत प्राधिकरण गोरखाका प्रमुख चिजबहादुर गुरुङ, प्राक्टिकल एक्शनका सिनियर प्रोग्राम अफिसर हिमाल चौलागाई, गोनपाका वडाहरुको वडाअध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, डिसीआरडिसीका सल्लाहाकार कृष्ण प्रसाद शर्मा, संस्थाका बोर्ड मेम्बर विमल राज पन्त लगायतको उपस्थिति रहेको थियो ।




