| मङ्लबार, कार्तिक २४, २०८३

सिलिङटार झोलुङ्गे पुल मर्मतपछि संचालनमा, बाँकी दुई पुल अझै अलपत्र

बाढीले क्षति पुगेको शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको इच्छाकामना ४ चेरेस जोड्ने झोलुङ्गे पुल मर्मतपछि संचालनमा आएको छ । सस्पेन्सन ब्रिज महाशाखा पुल्चोकको प्राविधिक सहयोगमा शहीद लखन गाउँपालिकाले उक्त पुलको मर्मत गरेको हो । १ सय ६१ मिटर लम्वाईको उक्त पुल केही दिनअघि मर्मत भएको हो ।

गत असोज ११ र १२ गतेको बाढीले शहिद लखन जोड्ने तीन वटा पुलमा क्षति पु¥याएको थियो । गाउँपालिकाका अनुसार दुई वटा पुल आंशिक र बाँकी एउटा पूर्ण रुपमा क्षति भएको थियो । मर्मतपछि सिलिङटार पुल संचालनमा आएपनि बाँकी दुई वटा झोलुङ्गे पुल भने अझै संचालनमा आउन नसकेको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए ।

‘बाढीले हाम्रो पालिकाको वडा नम्वर ४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटार जोड्ने झोलुङ्गे पुल, सोही वडाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी जोड्ने झोलुङ्गे पुल र हाम्रो पालिकाको वडा नम्वर ३ र चितवनको इच्छाकामना ४ जोड्ने सिलिङटार झोलुङ्गे पुलमा क्षति पुगेको थियो,’ उनले भने, ‘सिलिङटारको पुल मर्मत भएर संचालनमा आयो, बाँकी दुई वटा पुल त्यत्तिकै छ ।’ अहिले कामचलाउको रुपमा मर्मत गरेपनि तीन वटै पुल नयाँ बनाउनुपर्ने उनको भनाइ छ ।

शहीद लखनको ठेउवाटार र इच्छाकामनाको लेवाटार जोड्ने झोलुङ्गे पुलको ठाउँमा मोटरेवल पुल बनाउन माग गरिएको उनले जानकारी दिए । ‘हामीले मोटरेवल पुल बनाउनका लागि सम्बन्धित निकायमा आवश्यक बजेट माग गरिदिन भन्दै जिल्ला विपद व्यवस्थापन समितिलाई पत्राचार गरेका थियौ, सोही अनुसार समितिले भौतिक पूर्वाधार यातायात मन्त्रालय सडक बिभाग पुल महाशाखालाई पत्राचार गरेको छ,’ थापाले भने । गत असोज २० गते बसेको विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको थियो ।

त्यस्तै पूर्ण रुपमा क्षति पुगेको शहिद लखन ४ ठेउवाटार र इच्छाकामना ४ धारापानी जोड्ने झोलुङ्गे पुल पुननिर्माण गर्न माग गर्दै समितिले संघिय मामिला तथा स्थानीय पूर्वाधार बिभाग श्रीमहल पुल्चोकलाई पत्राचार गरेको छ । हाल सामान्य मर्मतपछि संचालनमा आएको सिलिङटार झोलुङ्गे पुल मर्मत संहारका लागि संघिय मामिला तथा स्थानीय पूर्वाधार बिभाग श्रीमहल पुल्चोकलाई पत्राचार गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्