| मङ्लबार, कार्तिक २४, २०८३

जहाँ न स्वास्थ्यचौकी, न नियमित खोप, सिटामोल लिन तीन घण्टा

धार्चे गाउँपालिका ७ ठाँटीकी सूर्यमाया गुरुङ गत मंगलबार बिहान घाँस काटेर फर्कँदै गर्दा भीरबाट लडिन् । आफन्तीहरु भेला भएर बोकेर घरमा ल्याए । हात चलाउनै नमिल्ने गरी दुख्यो । धेरै टाढा पर्ने हुँदा स्वास्थ्य संस्था लैजान सम्भव भएन । कुहिनुको जोर्नी फुस्किएको अनुमान गरी तानतुन गरे । तर झन्झन् सुन्नियो, सहनै नसक्ने दुख्यो ।

भोलिपल्ट बिहान युवाहरु जमघट भए । डोको काटेर बिरामी बोक्ने साधन बनाए । त्यसपछि आलोपालो गर्दै भीरपहराको बाटो बोकेर उपचारका लागि आरुघाटतिर लगे । मध्य दशैंका बेला अर्की स्थानीय सन्तमाया गुरुङलाई पनि उस्तै स्वास्थ्य समस्या आइलाग्यो । तीनदिनदेखि आँखा रातो भएर दुख्यो । घरेलु जडिबुटी ओखतीमुलोले नछोएपछि उनी पनि आफन्त साथ लागेर आरुघाटतिर हिँडिन् ।

‘गाउँमा सामान्य बिरामी भए पनि उपचार पाइँदैन । हामो वडाको स्वास्थ्यचौकी लापुमा छ । त्यहाँ पुग्न सातदेखि आठघण्टा हिड्नुपर्छ’, स्थानीय सूर्यमान गुरुङ भन्छन्, ‘भीरकुनामा गाउँघर क्लिनिक छ । त्यहाँ पुग्न पनि पाँचघण्टा हिँड्नुपर्छ । आरुघाट गाउँपालिकाको स्वाँरा गाउँको गाउँघर क्लिनिक पुग्न तीनघण्टा हिँड्नुपर्छ ।’ गाउँमा स्वास्थ्य संस्था नहुँदा ठाँटी गाउँबासीले धेरै दुख खेप्नु परेको उनको भनाइ छ ।

उपचार त परको कुरा, सामान्य स्वास्थ्य समस्या पत्ता लगाउन पनि नसकिने स्थानीयको गुनासो छ । ‘गाउँमा जोरो नाप्ने थर्मोमिटर पनि छैन’, स्थानीय आइतमान गुरुङ भन्छन्, ‘जोरो आयो भने तिम्रो घरमा सिटामोल भए देऊ न भन्दै घरघर चाहार्नु पर्छ । ओखतीको म्याद छ कि छैन, मतलब छैन । ट्याबलेट पाए खुशी भएर खानुपर्छ ।’ स्वास्थ्य संस्थाको अभावमा गाउँले झाँक्रीको भर पर्न बाध्य भएको उनको भनाइ छ ।

‘झाँक्रीको भर नपरे के गर्ने त ? अरु हामीसंग केही त छैन’, उनी भन्छन्, ‘जति सिकिस्त भए पनि चार पाँच दिनसम्म सहँदा सँहदै निको हुन्छ ।’ स्वास्थ्यकर्मीले गाउँमा पोलियो थोपा, जुकाको औषधी, भिटामिन ए क्याम्पुल पनि अरुको हातमा पठाउने उनले बताए । ‘जुकाको दबाइ, भिटामिन ए क्याप्सुल भीरकुना हेल्थपोस्टमा जो भेट्यो उसकै हातमा पठाउने रहेछन्’, स्थानीय सुकुमारी गुरुङ भन्छिन्, ‘नियमित गर्भ जाँच गर्न, बच्चालाई नियमित खोप लगाउन पनि तीन, चार घण्टा हिँडेर स्वाँरा जानुपर्छ ।’

गाउँमा र गाउँ नजिकै स्वास्थ्य चौकी र बर्थिङ सेण्टर नहुँदा सुत्केरी हुने महिना आएपछि गोरखा बजार अथवा आरुघाट बजारमा डेरा लिएर बस्ने गरेको उनको भनाइ छ । ठाँटीगाउँ नजिकै अरु गाउँबस्ती छैनन् । वडाको केन्द्रबाट पनि यो धेरै टाढा पर्छ । मतदान गर्न पनि यहाँका मतदाता छ, सात घण्टा पैदल हिडेर जाने गर्छन् । जम्मा २१ घरधुरी रहेको यसलाई सडक सञ्जालले जोडेको छैन । कक्षा दुईसम्म समोबाइल नेटवर्क पनि अत्यन्त कमजोर हुँदा सञ्चार सुविधा पनि सहज छैन ।

थोरै घरधुरी र जनसंख्या कम भएकाले सेवा सुविधाबाट बञ्चित हुनुपरेको स्थानीय युवा सूर्यमान गुरुङको गुनासो छ । ‘यहाँ थोरै घरधुरी छ । त्यसमा हाम्रो के दोष ? थोरै घरधुरी भयो भन्दैमा भएकाहरु सेवा सुविधाबाट बञ्चित हुनु अन्याय हुन्छ’, उनी भन्छन्, ‘यहाँ ठूलामान्छेहरु आउने चुनावमा मात्र हो । हरेक पार्टीका नेतालाई यहाँको समस्या जस्ताको तस्तै सुनाउँछौँ । तर जसले जिते पनि हाम्रो समस्या जस्ताको तस्तै छ ।’

प्रतिक्रिया दिनुहोस्