
युवा पलायन हुनबाट रोक्ने योजना बनाउँदै जर्मन नागरिक
नेपालका गाउँबस्ती र अहिले सहरसमेत रित्तिदै गएकोप्रति नेपाली मात्र होइन, नेपालप्रति शुभेच्छा राख्ने विदेशी पनि चिन्तित बनेका छन् । भ्रमणको सिलसिलामा ५१ पटक नेपाल आएका एक जर्मन नागरिक रेइनर स्ट्रसेसलाई पनि नेपाल युवाबिहिन हुदै गएकोप्रति टिठ लाग्यो । त्यसैले ५२ औं पटकको नेपाल भ्रमणमा नेपालका युवा नेपालमै रहने उपायको खोजी गर्न चाहे ।
‘नेपाल एक विकासोन्मुख देश हो । यो बेला मुलुकको संवृद्धिका लागि युवाशक्तिको ठूलो खाँचो छ’, उनी भन्छन्, ‘तर धेरै युवाहरु विदेश पलायन भएको पाएँ । यस विषयमा नेपाल जर्मन फ्रेण्डसीपका अध्यक्ष रामप्रताप थापासंग पनि कुराकानी भयो । उहाँले पनि युवा पलायन रोक्न कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैले मैले यो पटकको नेपाल भ्रमणमा गोरखा जाने र यहाँका युवालाई स्वरोजगार बनाउन के गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गरेको छु । अब जर्मनी फर्केपछि नेपाललाई सहयोगमा समन्वय गर्ने ‘सहयोगी साथी नेपाल’, ‘नेपाल जर्मन फ्रेण्डसीप’ जस्ता संस्थाहरुसंग परामर्श गरी योजना तर्जुमा गर्नेछु ।’ विशेषगरी यहाँका युवाहरुलाई व्यवसायिक तालिम केन्द्रमार्फत दक्ष बनाई नेपालमै स्वरोजगार बनाउने वा नेपालमै रोजगार गर्न सक्ने बनाउने पक्षमा आफू रहेको उनले बताए ।
जर्मनीमा नेपाली युवाहरुलाई व्यवसायिक तालिम गराउने संस्था नेपाल सेक्रेटरियट अफ स्कील एण्ड ट्रेनिङ(एनएसएसटी) नामक संस्था छ । त्यसले नेपाली युवाहरुलाई नेपालमै र आवश्यकता अनुसार जर्मनीमा राखेर सीप सिकाई स्वरोजगार गराउन मद्दत गर्ने गरेको छ । सोहीमार्फत गोरखाका युवाहरुलाई तालिम दिई दक्ष बनाउने कार्यक्रम गर्ने बारेमा योजना बनाइरहेको उनको भनाइ छ ।
उनले गोरखा भ्रमणका क्रममा सिटिईभिटीमार्फत सञ्चालित यहाँका केही तालिमकेन्द्रहरुको अध्ययन भ्रमण पनि गरेका छन् । ‘अब तिनै तालिम केन्द्रहरुमा युवाहरुलाई अध्ययन गर्न सघाउने अथवा नयाँ तालिम केन्द्र सञ्चालन गरी धेरैभन्दा धेरै युवाहरुलाई व्यवसायिक तालिम दिने भन्ने हामी छलफलमै छौँ’, उनले भने, ‘विशेषगरी गोरखा जन्मथलो भई जर्मनीमा रहेका रामप्रताप थापासंगको सहकार्यमा यो कार्यक्रम चलाउँछौँ ।’ बिगत २५ बर्षदेखि थापासंगको सहकार्यमा नेपालमा सहयोगको कार्यक्रम गरिरहेका उनले बताए ।
मर्सिडिज बेञ्जका हेड अफ जर्मन डिभिजन भई काम गरिसकेका रेइनर सन् २००० बाट नेपालको भ्रमणमा आउन थालेका हुन् । यस अवधिमा उनले १२५ जना नेपाली युवालाई अध्ययनमा सहयोग गरिसकेका छन् । कसैलाई एमबिबिएस, कसैलाई सिए, कसैलाई एमबिए, कसैलाई इञ्जिनियर पढाएर दक्ष नागरिक बनाएको उनको भनाइ छ । सेवाबाट निवृत्त भइसकेपछि अझै समाजसेवामा घनिभूत रुपमा लाग्ने योजना रहेको बताउदै उनले विशेषगरी युवाहरुलाई नेपालभित्रै स्वरोजगार गर्ने वातावरण बनाउने बताए ।




