| सोमवार, साउन २४, २०८३

अब गोरखा बजारको विद्युत लाइन एउटै फिडरबाट

गोरखा बजारको विद्युत लाइनलाई एउटै फिडरमा जडान गर्ने कार्य सुरु भएको छ । विद्युत अनियमितता कम गर्ने उद्देश्यले मुख्य बजार क्षेत्रको लाइनलाई एउटै फिडरबाट संचालन गर्न लागिएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
गोरखा सबस्टेशनबाट नयाँबजार, महेन्द्रज्योति र खोप्लाङ गरी तीनवटा फिडरबाट विद्युत वितरण हुदैँ आएको छ । ‘बजार क्षेत्रमा नयाँबजार फिडरबाट लाइन वितरण हुदैँ आएपनि बजारको सबै भू–भाग यसले समेट्न सकेको छैन,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘यसले समेट्न नसकेको क्षेत्रलाई क्रमश यही फिडरमा जोड्ने कामको थालनी गरेका हौ ।’ हाललाई हरमटारीदेखि आयुर्वेदिकचोकसम्मको क्षेत्रलाई नयाँबजार फिडरमा जडान गर्ने काम भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार हरमटारीदेखि आयुर्वेदिकचोकसम्म ११ मिटरको पोल राख्ने काम भइरहेको छ । ओभरलोड भएका ट्रान्सफर्मरको लोड मिलाउने, क्षमता वृद्धि गर्ने र सम्भव भए ट्रान्समिटर थप गर्ने पनि कार्यालयले जनाएको छ । ‘हरमटारीदेखि आयुर्वेदिकचोकसम्म अहिले तल्लो क्षेत्रबाट बिजुलीको तार लगिएको छ, क्रसिङ हटाउन अहिले हामीले माथिल्लो क्षेत्रमा पोल राखेर दुवैतर्फबाट लाइन लाने व्यवस्था गरेका छौ,’ गुरुङले भने । उनका अनुसार उक्त क्षेत्रमा हाल खोप्लाङ फिडरबाट विद्युत वितरण भइरहेको छ ।
कार्यालयका अनुसार नयाँबजार फिडरले हरमटारीचोकदेखि मान्दे्रढुंगासम्मको क्षेत्रलाई समेटेको छ । महेन्द्रज्योती र खोप्लाङ फिडरमा जडान भएको अस्पतालचोक र तीनधारे क्षेत्रलाई पनि यसअघि नयाँबजार फिडरमा जडान गरिसकिएको कार्यालय प्रमुख गुरुङले बताए । बजारका अन्य क्षेत्रलाई पनि क्रमश नयाँ बजार फिडरमा जोड्दै लैजाने योजना रहेको उनले जानकारी दिए ।
बजार क्षेत्रका लागि मात्र छुट्टै फिडर भएपछि विद्युत आउने जाने समस्या कम हुने उनको भनाइ छ । ‘बजारमै फरक फरक फिडरबाट विद्युत वितरण हुँदा एउटा घरमा बिजुली आउने सँगैको अर्काे घरमा नआउँदा धेरै गुनासो आउथ्यो अव त्यो समस्या पनि हल हुन्छ । बजार क्षेत्रको लाइन धेरै डिस्टव हुदैन,’ उनले भने ।
उनका अनुसार कार्यालयले बिद्युत पोल राखेपछि बजार क्षेत्रमा रहेका टेलिकमको पुरानो पोलहरु हट्ने छन् । पुराना पोल हटाएर बिद्युत पोलबाटै टेलिकमको तारहरु व्यवस्थित गरिने बताइएको छ । यसले बजार क्षेत्रको सौन्दर्यता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तर फुटपाथ व्यवस्थापनमा भएको ढिलासुस्तीका कारण काममा ढिलाई भएको गुरुङले बताए । ‘सडकको स्तरोन्नती भनिरहेको छ, राइट अफ वे को कुरा आउँछ, फेरी नगरपालिकाले फुटपाथ व्यवस्थित गर्ने भनेपनि काम सुरु नभएकाले समस्या भएको हो’, उनले भने ।
महेन्द्रज्योती फिडरमार्फत नारेश्वर, फिनाम, वगुवा, अश्राङ बोर्लाङ, आरुपोखरी, घ्याम्पेशाल ताकुकोट गाँखु, नयाँसाँघु लगायतका क्षेत्रमा विद्युत लाइन वितरण हुदैँ आएको छ भने खोप्लाङ फिडरमार्फत खोलखोले, नगरपालिका क्षेत्र, बराह, आले, लक्ष्मीबजार, स्याउली, बुंकोट, मकैपुर, नाम्जुङ, लुदी खोला, छेवेटार, मिरकोट, खोप्लाङ, छोप्राक, चित्रेपोखरी लगायतका क्षेत्रमा विद्युत वितरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्