
भीमसेनथापामा डिजिटल घर नम्वरप्लेट
भीमसेनथापा गाउँपालिकाभित्रका घरहरुमा डिजिटल घर नम्वरप्लेट जडान हुन थालेको छ । पालिकाभित्रका घरधुरी र पारिवारिके अभिलेखलाई व्यवस्थित बनाउने उद्देश्यले पालिकाले उक्त काम सुरु गरेको हो ।
पालिकाले गत आर्थिक बर्षबाट डिजिटल घर नंबरप्लेट टाँस्ने काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘पहिलो चरणमा वडा नम्वर ६ अश्राङबाट यो काम सुरु गरेका हौँ’, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले भने, ‘हालसम्म ४१० घरधुरीमा डिजिटल नम्वर प्लेट जडान भइसक्यो ।’ उक्त डिजिटल प्लेटमा घरमुलीको नाम, गुगल प्लसको कोड नम्वर लगायतका विवरणहरु उल्लेख गरिएको उनले जानकारी दिए । उनका अनुसार उक्त कोडबाट घर रहेको स्थानको ठेगाना र घरमुलीको नाम पत्ता लाग्ने छ ।
‘नेपालीमा छुट्टै कोड नम्वर पनि प्लेटमा उल्लेख भएको हुन्छ, घरपिच्छे त्यो कोड नम्वर फरक फरक हुन्छ,’ उनले भने । प्लेटमा स्क्यान गर्न मिल्ने गरी क्यू आर कोड पनि राखिएको उनले जानकारी दिए ।
उनका अनुसार उक्त कोड स्क्यान गर्दा सम्बन्धित घरमुलीको मोवाइलमा स्वतः घण्टी बज्छ । स्क्यानका लागि ‘कता हो’ भन्ने एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । घरमुली जहाँ भएपनि डिजिटल घर नम्वर प्लेटमा भएको क्यू आर स्क्यान गरेर सहजै सम्पर्क गर्न सकिने बताइएको छ । यसले घरमा कोही व्यक्ति आएको बारे पनि जानकारी गराउने पालिकाले जनाएको छ ।
उक्त डिजिटल प्लेटबाट पालिकाबासीको विस्तृत विवरण पालिकाले सहजै हेर्न मिल्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । ‘कता हो भन्ने एप्सले हामीलाई ड्यास बोर्डको पहुँच दिएको छ, त्योबाट पालिकाले पालिकाभित्रको र वडाले आफ्नो क्षेत्रभित्रको बिस्तृत विवरण अनलाइनबाटै हेर्न मिल्छ,’ उनले भने । घरमुलीको नाम, सम्पर्क नम्वर, परिवार संख्या लगायतका विवरण हेर्न मिल्ने उनले जानकारी गराए । पालिकाभित्रका घर नम्वर, पारिवारिक तथ्याङ्क र नागरिकको विवरण समेत सहजै थाहा पाउन सकिने बताइएको छ ।
उक्त प्लेटमा प्रहरी, दमकल, एम्वुलेन्स, बालबालिका खोजतलास लगायतका आकस्मिक नम्वरहरु पनि राखिएको छ । आपतकालिन समयमा सम्पर्क गर्न सहज हुने पालिकाले जनाएको छ । ‘पाइलट प्रोजेक्टको रुपमा वडा नम्वर ६ बाट यो काम सुरु गरेका हाँै, अब क्रमश सबै वडामा डिजिटल घर नम्वर प्लेट जडान गर्ने लक्ष्य छ,’ अधिकारीले भने । आवश्यकता अनुसार विवरण र तथ्याङ्कहरु थप गर्दै लैजाने योजना समेत रहेको उनले जानकारी दिए ।




