| मङ्लबार, कार्तिक २४, २०८३

दुर्गा पूजा गर्नेहरुमाथि दुव्र्यवहार !

गोरखा बजारमा बसोबास गर्ने तराइ मधेश मुलका हिन्दूधर्मावलम्बहरुले दुर्गा पूजा गर्ने क्रममा दुव्र्यवहार गरिएको छ । शनिबार राती १० बजे आरतीको समयमा फरक धर्म मान्नेहरुबाट आफूहरुमाथि दुव्र्यवहार भएको नवदुर्गा पूजा आयोजक समितिका मुल पूजारी सुवास गुप्ताले बताए ।

‘हिजो राती आरतीको समयमा चारपाँचजना व्यक्ति आएर गाली गलौज गर्नुभयो, उहाँले आफुलाई पूजापाठ गरेको, भजन र्कीतन गरेको मनपर्दैन भनी अपशब्द बोल्दै झगडा गर्नुभयो’, उनले भने, ‘हामीहरु तराईबासी हौँ, विभिन्न कारणबस पुर्खौली थलो जान नपाएपछि यहीँ नवरात्री मनाउने उदेश्य सहित पूजा आयोजना गरेका हौँ । दुर्ग पूजा आयोजना गर्दा स्थानीयहरुले ठुलो सहयोग गर्नुभएको छ । तर, हिजोको घटना भने असह्य थियो ।’

गत बिहीबारदेखि सुरु भएको दुर्गा पूजा २६ गतेसम्म संचालन हुने उनले बताए । ‘दुर्गा पूजा मनाउनका लागी स्थानीयहरुले धेरै साथ सपोर्ट गर्नु भएको छ तर एकदुई जनाले यसरी बिरोध गर्दा साह्रै नमज्जा लाग्छ’, उनले भने ।

गोरखा सदरमुकाममा तराई भेगका मानिसहरुको बाक्लो बसोबास रहेको छ । वीरगंज, रक्सौल, रौतहटसँगै भारत मुलका मानिसहरुको समेत बसोबास रहेको नवदुर्गा पूजा आयोजक समितिकै सदस्य अरबीन्द्र कुमार गुप्ताले बताए । सदरमुकाममा मात्र करिब दुईसय जना तराईबासीहरुको बसोबास रहेको उनले जानकारी दिए ।

‘अहिले त गोरखामा हाम्रो समुदायको सङख्या बढ्दो छ, म आँफै पनि २५ वर्ष अगाडि गोरखा आएको हुँ । कर्मथलो गोरखा बनेपछि यही ठाउँ आफ्नो घर जस्तो लाग्छ’, उनले भने, ‘जहाँ बसेपनि आफ्नो धर्म निभाउनु प¥यो, त्यसैले हामी सबै तराईबासीहरु मिलेर दुर्गा पूजा आयोजना गरेका हौँ । तर, हिजो (शनिबार) पूजा गर्ने क्रममा हाम्रो समुदायमाथि आक्रमण भयो ।’

पूजा गर्ने क्रममा एकजना व्यक्तिले रक्सी सेवन गरेर आफुहरुलाई धाकधम्की दिएको उनले बताए । उक्त घटना घटेपछि तुरुन्त प्रहरीलाई खबर गरी ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुब प्रसाद शर्माले होहल्ला गर्ने व्यक्तिलाई तुरुन्तै नियन्त्रणमा लिइएको बताएका छन् ।

‘घटनाबारे खबर पाउने बित्तिकै हामीहरुले ती व्यक्तिलाई पक्राउ गरेका थियौँ’, उनले भने, ‘केस बुझ्दा मादक पदार्थ सेवन गरेका रहेछन, आज (आईतबार) सम्झाई, बुझाई गरी पठाएका छौँ ।’ गल्ती स्वीकार गरेपछि दुवै पक्षबीच सहमति गराएर सो व्यक्तिलाई छाडिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्