
गोरखामा डेंगीको जोखिम बढेको बढ्यै, दुईको मृत्यु
डेंगीका कारण जिल्लामा हालसम्म दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार शुक्रबार मात्र गोरखा सदरमुकामस्थित नयाँबजार बस्ने ४५ वर्षीय एक महिलाको मृत्यु भएको हो । उक्त महिलाको गोरखाको एपोलो अस्पतालमा डेंगी संक्रमण पुष्टी भएको र भरतपुर रिफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
यस्तै, केही समयअघि पालुङटार नगरपालिकाका एक पुरुषको पनि डेंगीका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको भनाइ छ । ४६ वर्षीय सो पुरुषको पनि डेंगी संक्रमणका कारण मृत्यु भएको बताइएको छ । हाल जिल्लामा डेंगीले महामारीको रुप लिएको कार्यालयका प्रमुख यमप्रसाद शर्माले बताए ।
कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको अवस्थामा पनि डेंगी संक्रमण तिव्र रुपमा फैलनु दुखद रहेको उनको भनाइ छ । संक्रमणको जोखिम केही समयसम्म कायमै रहने भएकाले उच्च सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले हाल अस्पतालमा दैनिक १०–१५ जना डेंगी संक्रमण पुष्टी हुने गरेको बताएका छन् ।
विगत २–३ हप्तादेखि यो क्रम यथावत नै रहेको उनको भनाइ छ । ‘पानी रोकिएको अवस्था छ, त्यसैले संक्रमणको जोखिम कायमै छ’, उनले भने, ‘अस्पतालमा ज्वारोका बिरामीको चाप बढेकाले सबैजना सुरक्षित हुन जरुरी छ ।’ केही समय संक्रमणको जोखिम रहने भएकाले सुरक्षित रहनुपर्ने उनको भनाइ छ ।




