
पहिरोले लखेटेको गाउँलेलाई फर्काउँदै एफएओ
प्रतीक्षा आले मगर ।
बारपाक सुलिकोट गाउँपालिकाको फुर्सिनान्, स्याप्राङ, झोलुंगे बस्ती र खारुङ लगायतका क्षेत्रहरुमा २०७२ साल बैशाख १२ को भूकम्पपछि पहिरो जान सुरु भयो । त्यसअघि ती क्षेत्रहरुमा पहिरो जाँदैनथ्यो । भूकम्पले जमिन हल्लाएसँगै त्यस क्षेत्रहरुमा पहिरोको जोखिम बढेको स्थानीयहरु बताउँछन् ।
भूकम्प लगतै पहिरो जान थालेपछि गाउँलेहरु गावैँ छाडेर जान बाध्य भएको बारपाक सुलिकोट गाउँपालिका–२ फुर्सिनान्का स्थानीय गणेशबहादुर गुरुङले बताए । ‘भुइँचालोले घर भत्कायो । जसोतसो झुप्रो बनाएर बसेका थियौँ । पछि पहिरोले डाँडै भास्सिन लागेपछि हामी यहाँ बस्न नसकेर बसाइँ सर्न बाध्य भयौँ’, उनले भने ।
पहिरोले ज्यानै जोगाउन गाह्रो भएपछि फुर्सिनान् गाउँका भएका सबै १३ घरपरिवार जोखिममा परेको अर्की स्थानीय वीरकुमारी गुरुङ बताउँछिन् । ‘भुइँचालोपछि पहिरो जान थाल्यो’, उनले भनिन्, ‘घरमा ९६ वर्षको सासु आमा हुनुहुन्थ्यो । बर्खाको बेला पहिरोले पुर्ला कि, बगाउला कि भनेर रातभर निन्द्रा लाग्दैनथ्यो ।’ २०७४/७५ सालको पहिरोले गाउँ नै बिस्थापित हुने अवस्था सिर्जना भएको उनले बताइन् ।

यसैगरी, बारपाक सुलिकोट गाउँपालिका–१ स्याप्राङका बासिन्दाहरु पनि २/४ वर्षअघि पहिरोका कारण निकै त्रसित जीवन बिताइरहेका थिए । २५ घरधुरीको बसोबास रहेको स्याप्राङ बस्तीका स्थानीयहरु भूकम्पपछि स्यामेरबाट त्यहाँ स्थानन्तरण भएका स्थानीय ओम बहादुर गुरुङ बताउँछन् ।
‘यतातिर(स्याप्राङमा) राम्रो होला कि भनेर गाउँको सबै आइयो तर यहाँ पनि पहिरोका कारण जोखिम बढ्यो’, उनले भने, ‘घरमा बुढाबुढी बाउआमा, श्रीमती नानीबाबु मात्र । आफु विदेशमा थिएँ, दिनरात चिन्ताले सताउने भएर घरमै फर्किएँ ।’ जथाभावी सडक बाटो खन्ने तथा ढल नालाको उपयुक्त व्यवस्थापन नगरेको कारण पहिरोको जोखिम बढेको उनको भनाइ छ ।
बारपाक सुलिकोट गाउँपालिका–४ झोलुंगेका स्थानीयहरुले पनि बाढी पहिरोका कारण निकै समस्या भोगेको बताएका छन् । स्थानीय कालथानी गुरुङका अनुसार पहिरोका कारण झोलुंगेका २४ घरधुरी समस्यामा परेको छ । सँधै पहिरोको जगजगीमा बसेको उनको भनाई छ ।

यस्तै, बारपाक सुलिकोट गाउँपालिका–४ खारुङका स्थानीयहरु पनि पहिरोको त्रासमा परेको अवस्था छ । खारुङमा पनि भूकम्पपछि २०७३/०७४ बाट पहिरो जान सुरु भएको स्थानीयहरुले बताएका छन् । स्थानीय श्यामबहादुर गुरुङले पहिरोका कारण रातरात भाग्नु पर्ने अवस्था आएको बताएका छन् । करिब २५ घरधुरी रहेको खारुङको पहिरोले स्थानीयहरुलाई लखेट्यो । जमिन झन्डै ३–४ कान्ला तल भास्सिएपछि गाउँलेहरुले गाउँ छाडे । आर्थिक अवस्था कमजोर भएकाहरु भने गाउँमै त्रसित जीवन बिताउन बाध्य भएको उनको भनाइ छ ।
फुर्सिनान्, स्याप्राङ, झोलुंगे र खारुङका स्थानीयहरु पहिरोको विषयमा संसदसम्म पुगे । तर, उनीहरुको गुनासो सुनुवाइ भएन । वडा र पालिकाको स्रोत साधनबाट पहिरो नियन्त्रण गर्न नसकिएको वडा नं ४ का जनप्रतिनिधि सुनेम गुरुङ बताउँछन् । ‘वडाको बजेट निकै सानो छ तर कार्यक्षेत्र ठूलो छ । पहिरोले यहाँको डाँडै भास्सिने अवस्था छ, तर वडा र पालिकाको थोरै बजेटले कोही गर्न सक्दैनौँ’, उनले भने ।
हाल ती क्षेत्रहरुमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले युएसएआईडीको आर्थिक सहयोग तथा वडा, गाउँपालिका र भू–तथा जलाधार व्यवस्थापन कार्यालयको समन्वयमा पहिरो जोखिम न्यूनिकरणको काम भइरहेको छ । भूकम्पपछिको मनसुनले पहिरोलाई सक्रिय बनाएका कारण उक्त क्षेत्रहरुमा पहिरोको जोखिम बढेको एफएओका विपद जोखिम न्युनिकरण विषेशज्ञ लीला गुरुङले बताए ।
हाल एफएओले भू–तथा जलाधार कार्यालय, वडा र पालिकहरुसँगको साझेदारीमा ‘समुदायमा आधारित पहिरो जोखिम न्यूनिकरणमार्फत जोखिममा रहेका जनताको जीविकोपार्जन सुदृढीकरण’ परियोजना संचालन गरेको गुरुङको भनाइ छ ।
‘एनजीओहरु आएर काम गर्छन्, कामको परिणाम पनि राम्रो आउँछ तर एनजीओ जाने बित्तिकै समुदायहरु पहिलेकै अवस्थामा फर्किएको धेरै उदाहरण छन्, त्यसैले हामीले पालिका, वडा र भू–तथा जलाधारलाई पनि आयोजनामा सामेल गराएका छौँ’, उनले भने, ‘यसो गर्दा स्थानीय सरकारको पनि अपनत्व बढ्ने र हामीलाई काम गर्न पनि सजिलो हुने ।’ पालिका र भू–तथा जलाधारले योजना अवधीभर प्राविधिक जिम्मेवारी सम्हालेको उनले जानकारी दिए ।
एफएओले पहिरोको चपेटामा परेका फुर्सिनान्, स्याप्राङ, झोलुंगे बस्ती र खारुङमा ग्याभिनिङ निर्माण गरी ती क्षेत्रहरुमा बृक्षारोपणको काम संचालन गरेको छ । संस्थाले पहिरो गएको ठाउँहरुमा अमृसो रोपेर पहिरो नियन्त्रण तथा स्थानीयहरुको जीविकोपार्जन सुदृढीकरणमा टेवा पु¥याएको जनाएको छ ।
‘संस्था आएर हाम्रो गाउँमा कार्यक्रम संचालन भयो । अहिले अलिअलि भए पनि पहिरो नियन्त्रण भएको छ’, फुर्सिनान्का स्थानीय राजेन्द्र गुरुङले भने, ‘अहिले त जत्रो पानी परेपनि आनन्दले आफ्नै घरमा सुत्न सकेका छौँ । यो वर्ष पोहोर वर्षहरुमा भन्दा ठुलो पानी प¥यो तर, पहिरो गएन । सबैजना ढुक्कले आफ्नै घरमा बस्नसक्यौँ ।’
यस्तै, खारुङकी सुमित्रा गुरुङ पनि यो वर्ष बर्खाभरि घरमै आनन्दले बसेको सुनाउँछिन् । ‘पहिला–पहिला बुढी सासु लिएर राती राती भाग्ने भन्ने चिन्तामा थियौँ । संस्था आएर गाउँमा काम ग¥यो । यो वर्ष आनन्दले निदाउन पाइयो, उनले भनिन्, ‘संस्थाले साइरन जोडिदिएको छ । यदि ठूलै पहिरो जान लाग्यो भने त्यो एम्बुलेन्स जस्तै गरी कराउँछ । त्यसपछि हामी सुरक्षित ठाउँमा जान्छौँ ।’
२–३ पटक साइरन बजिसकेको र गाउँलेहरु सबै पूर्वतयारीमा जुटेको उनी बताउँछिन् । गाउँमा पहिरो नियन्त्रणको कार्यक्रम आएसँगै बसाइँसराइ भएर गएका २–३ घरहरु फर्किएका र थप २–३ घरहरु फर्किने कुरा भएको सुमित्रा गुरुङको भनाइ छ ।




