
लिगलिगे दौडलाई निरन्तरता देऊ
विवाद बढ्दै गएपछि असोज १७ गतेदेखि संचालन हुने भनिएको प्रथम लिगलिगे महोत्सव तथा १२ औं संस्करणको लिगलिगे दौड प्रतियोगिता अन्तिम समयमा स्थगित भएको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै पालुङटार नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि महोत्सव र दौड स्थगित गरिएको जनाएको हो । गत बिहिवार बसेको नगर कार्यपालिकाको बैठकले महोत्सव स्थगित गर्ने निर्णय गरेको थियो ।
लिगलिगे दौड पालुङ्टारको मात्र नभै सिंगै गोरखाको पहिचान बनेर स्थापित भइसकेको इभेण्ट थियो । लिगलिगकोट विकास अभियान नामक एउटा क्लवले लिगलिगे दौडले ११ औँ श्रृङ्खलासम्म सकुशल पूरा गरेको थियो । कोभिड कालबाहेक सँधै निरन्तर चलेको सो दौड ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण कार्यक्रम हो ।
सामुदायिक, सार्वजनिक रुपमा भन्दा स्थानीय सरकारले यसको स्वामित्व लियो भने दीगो रहने र त्यसको महत्व पनि ज्यादा हुने हुँदा यस प्रतियोगितालाई स्थानीय सरकारले स्वामित्व लिनु उचित देखिन्छ । त्यसको प्रहल यबर्षबाट हुन लागेको पनि हो । तर लिगलिगकोट विकास अभियान र नगरपालिका बीच असमझदारी बढ्यो, विवाद चर्किँदै गयो, अन्ततः स्थगित गर्नुपर्ने बाध्यत्मक अबस्था आयो । जुन आउनु हुन्नथ्यो ।
विवाद नआउन, विवाद आए पनि समाधान गर्न दुवै पक्ष मिल्ने मनाशयमा रहनु पर्छ । मिल्ने नियत भयो भने मिल्ने दिशातिर उन्मुख हुन्छन् । तर नमिल्ने नियत राखी कुनै न कुनै बाधा अल्झन अघि सार्नु दुखद हुन्छ । ४६६ बर्ष पुरानो इतिहासको स्मरण गर्दै त्यसको सम्मानार्थ, त्यसको संरक्षणार्थ एउटा स्थानीय स्तरको क्लबले पहल गर्नु धेरै प्रसंसनीय कार्य थियो ।
उसलाई नगरपालिकाले उचित पहिचान दिनुपर्छ । तर आयोजनाचाहिँ नगरपालिका स्वयंले गर्नु अति उत्तम हो । दुई निकाय विवाद गर्नुभन्दा मिलेर समmभदारी बनाएर काम गरेको भए यसले निरन्तरता पाउने थियो । विवाद गरेर लिगलिगे दौड अवरुद्ध गरेर कसैलाई पनि फाइदा हुदैन ।




