
उत्तरी गोरखामा हेली उडानमा स्थानीयको अवरोध हट्यो
उत्तरी गोरखामा हेली उडानमा सामागाउँवासीले गरेको अवरोध हटेको छ । सरकारले कार्यदल गठन गरी निषेधित क्षेत्र खुल्ला गर्नका लागि पहल थालेसँगै अवरोध हटाइएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै उनीहरुले गत बुधबारदेखि हेली उडानमा रोक लगाएका थिए ।
‘सरकारले १५ दिनभित्र निषेधित क्षेत्र खुल्ला गर्ने बताएकाले आईतबारबाट हेली उडान सहज पारेका हौँ’, लामाले भने, ‘यो माग सामागाउँबासीको मात्र नभएर समग्र चुमनुब्रीवासीको हो ।’ निषेधित क्षेत्र खुल्ला गराउन पालिकाले पनि पहल गरिरहेको उनले बताए । उत्तरी गोरखामा बोर्डर आउटपोष्ट (बिओपी) स्थापना भइसकेकाले सो क्षेत्रलाई निषेधित क्षेत्र बनाइराख्नु जरुरी नभएको उनको भनाई छ ।
निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेलि उडान प्रक्रिया सहज बनाउनुपर्ने लगायतका माग सामागाउँबासीको छ । १५ दिनभित्र निषेधित क्षेत्र खुल्ला हुने आश्वासन पालिकाबाट पाएकाले हेलि उडानमा अवरोध हटाइएको सामागाउँका स्थानीय मिङ्मार लामाले बताए । ‘पालिका अध्यक्षले १५ दिन भित्र केही हुन्छ, हामीले समन्वय गरिरहेका छौँ भनेपछि स्थानीयहरुको सहमतिमा हेली उडान खुल्ला गरेका हौँ’, उनले भने ।
स्थानीयहरुले हेली उडानमा रोक लगाउँदा मनासलु क्षेत्र पुगेका पर्यटकहरु अलपत्र परेका थिए । यसैबीच निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने र हेलिकोप्टर उँडानमा गरिएको कडाइलाई सहज बनाउनु पर्ने मागसहित आन्दोलनरत स्थानीयबासीलाई भेट्न सो क्षेत्रका सांसद राजेन्द्र बजगाईँ सामागाउँ पुगेका छन् ।
आफ्नो क्षेत्रमा अबिरल बर्षापछिको बाढी, पहिरोले पारेको प्रभाव तथा आन्दोलनरत सामागाउँबासीको मागका बारेमा थप अध्ययन गर्न त्यसतर्फ गएका हुन् । उनले स्थानीयबासीसंग छलफल गर्दै निषेधित क्षेत्र खुल्ला गर्न तथा हेलिकोप्टर उँडानमा गरिएको कडाइलाई खुकुलो बनाउन आफूले सँधै पहल गरिरहेको बताएका थिए । साथै अहिले माग पूरा हुने चरणमा रहेकाले धैर्य गर्न उनले सुझाव दिएका थिए ।




