
‘घुस डिमाण्ड’ बिषयप्रति लेखापढी व्यवसायी एशोसियसनको ध्यानाकर्षण
अपुरो कागजात सहित अंशबण्डाको प्रक्रिया पूरा गरिदिन भन्दै लेखापढी व्यवसायीले घुस डिमण्ड गरेको विषयप्रति नेपाल लेखापढी कानुनी व्यवसायी एसोसियसन ‘पि.एल.एल.ए.एन’ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनाले एसोसियसनमा आबद्ध भई व्यवसाय संचालन गरिरहेकालाई निकै मार परेको एसोसियसनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक सरोज देवकोटाले बताए ।
‘मालपोतको काम गर्न आउँदा लेखापढीले घुस डिमाण्ड ग¥यो भनेर समाचार आएसँगै त्यस समाचारप्रति एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘यस्ता क्रियाकलापले संस्थामा आवद्ध व्यवसायीहरुप्रति हेरिने दृष्टिकोण नकरात्मक हुन गएको छ । साथै हाम्रो पेशा नै धरासायी बनेको अवस्था छ ।’ एसोसियसनले उक्त घटनामा संलग्न लेखापढी व्यवसायीहरुसँग स्पष्टिकरण समेत माग गरी कारबाही प्रक्रिया अघि बढाएको उनले बताएका छन् ।
‘घटनामा संलग्न लेखापढी व्यवसायी एसोसियसनकै सदस्यहरु हुनुहुन्छ । हामीले उहाँहरुसँग स्पष्टिकरण माग गरेका छौँ’, एसोसियसनका जिल्ला सचिव राजेन्द्र गान्धारीले भने । छानबिन समिति गठन भईसकेको र समितिले स्पष्टिकरणका आधारमा कारबाही प्रक्रिया अघि बढाउने तयारी समेत गरिरहेको उनले बताएका छन् । लेखापढी व्यवसायीहरु जिल्ला मालपोप, अदालत, यातायात र जिल्ला प्रशासन लगायत सरकारी लिखित काम हुने ठाउँहरुमा सहजिकरणको काम गर्ने गर्दछन् ।
नेपाल लेखापढी कानुनी व्यवसायी एसोसियसनले जिल्ला मालपोतसँग अनुमति लिएर भू–सेवा केन्द्र संचालनमा ल्याएका हुन् । जग्गा सम्बन्धी कारोबार गर्ने सेवाग्राहीहरुले केन्द्र मार्फत नै आफ्नो काम कारबाही अगाडि बढाउने हुँदा ‘घुस’को समाचारले अन्य व्यवासयीहरुलाई समेत प्रभाव पारेको एसोसियसनको भनाइ छ ।




