
लागू औषध दुरुपयोग र ओसारपासार विरुद्ध कदम चाल्न प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय गोरखाले लागू औषध दुरुपयोग तथा अवैध ओसारपासारका विरुद्ध कदम चाल्न सरोकारवाला निकाय र संघसंस्थालाई आग्रह गरिएको छ । बिहिबार बसेको लागु औषध नियन्त्रण सम्वन्धी सुरक्षा निकाय र सरोकारवालाहरु बीचको समन्वय बैठकमा जिल्लाभित्र लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार सम्बन्धि समिक्षा गरिएको हो ।
लागू औषधको प्रयोगले समाजलाई असुरक्षित बनाउँदै लगिरहेको साथै अपराधका घटना बढी रहेकाले यसको प्रयोगमा दुरुत्साहन गर्न सबै निकायहरुले भूमिका निर्वाह गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका विभिन्न क्षेत्रहरुमा जिल्ला प्रहरी कार्यालय गोरखासँग सहकार्य एवम् समन्वय गरी युवा लक्षित विभिन्न सचेतनामूलक र प्रर्वद्धनात्मक कार्यक्रमहरु संचालन गरिने उनले जानकारी दिए ।
लागू औषधको प्रयोग विभिन्न औषधी तथा सिरिन्जको माध्यमबाट पनि हुन सक्छ । यसलाई नियन्त्रण गर्न चिकित्सकको सिफारिस विना औषधी पसलहरुबाट विक्रि वितरणमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । लागू औषध प्रयोग हुन सक्ने सम्भाव्य स्थानहरुको पहिचान गरी जिल्ला प्रहरी कार्यालय गोरखाले निगरानी बढाउने बताएको छ ।
औषधी तथा औषधीजन्य सामाग्री ढुवानी गर्ने सवारी साधनहरुलाई जिल्ला प्रवेश गर्ने मुख्य मुख्य नाकाहरुमा आवश्यक चेकजाँच गरिनु पर्ने निर्णय बैठकले गरिएको छ । बैठकले जिल्लाका विभिन्न स्थानमा संचालित औषधी पसलहरु दर्ता भई संचालन भए वा नभएको नियमित अनुगमन गर्ने निर्णय गरिएको छ ।




