| आइतवार, कार्तिक २२, २०८३

लेखापढी व्यवसायीले ‘घुस डिमाण्ड’ गरेपछि …

प्रतिक्षा आले मगर ।
सिरानचोक गाउँपालिका घरभई हाल काठमाडौँ बस्दै आएका सबिन ढकाल गत मंगलबार अंशबण्डा गर्न मालपोत कार्यालय गोरखा आए । उनी सुरुमा ऋषिराम देवकोटाले सञ्चालन गरेको भू–सेवा केन्द्र(लेखापढी व्यवसायी कार्यालय)को सम्पर्कमा पुगे ।

हुन त निजी, सरकारी, सार्वजनिक, सामुदायिक र गुठीको घरजग्गा वा जग्गाको दर्ता गर्ने, अभिलेख राख्ने र सो अभिलेखको संरक्षण गर्ने निकाय जिल्ला मालपोत कार्यालय हो तर, गाउँठाउँबाट आउने सेवाग्राहीहरुको कामलाई सहज बनाउनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले भू–सेवा केन्द्र(लेखापढी व्यवसायी) लाई सहजीकरण गर्ने अनुमति दिने गरेको छ ।

ढकालले आफ्नो नाममा काठमाडौँ, चितवनमा रहेको जग्गाको तिरो तिरेको रसिदलगायतका कागजात ल्याएका थिएनन् । अंशबण्डा गर्न अनिबार्य चाहिने सो कागजात नभएपछि लेखापढी व्यवसायी ऋषिराम देवकोटाले ‘मालपोतका कर्मचारीसंग सेटिङ मिलायो भने काम बन्छ भन्दै ३५ हजार रुपैयाँ माग गरेको’ ढकालको आरोप छ ।

पैसा दिनुभन्दा बरु आफै जान्छु भन्दै ढकाल आफै मालपोत पुगे । कर्मचारीले काठमाडौँ, चितवनमा रहेको जग्गाको तिरो तिरेको रसिद लगायतका कागजात नभै अंशबण्डाको काम गर्न मिल्दैन भने । तर ढकालले लेखापढी व्यवसायीले आफूलाई सुनाएको कुरा त्यहाँ सुनाउँदै काम गरिदिन कार्यालयका कर्मचारीहरुसँग विवाद गर्न थाले । विवाद गर्ने क्रममा आफूमाथि दुव्र्यवहार भएको उनको आरोप छ ।

‘गल्ती ऋषिराम देवकोटाको हो । उहाँले पैसा दियो भने मेरो काम बन्छ भन्नु भएको थियो । तर, म उहाँमार्फत आइन’, सबिन ढकालले भने, ‘म आँफै कागजात लिएर मालपोत कार्यालयमा आएँ तर यहाँका कर्मचारीहरुले म माथि दुव्र्यवहार गरे । उल्टो मेरो कागजात फालिदिनु भयो । लेखापढीले बन्छ भनेको काम मालपोतले बन्दैन भन्यो ।’ त्यस घटनापछि मालपोत कार्यालय बिरुद्ध आफूले अख्तियारमा समेत मुद्धा हालेको उनले बताएका छन् ।

तर, ढकालको आरोपमा सत्यता नभएको मालपोत कार्यालयको भनाइ छ । लेखापढी व्यवसायीले बाहिरबाहिर के भन्छन्, त्यसको जवाफदेही कार्यालय नहुने मालपोतका सूचना अधिकारी दिपक गुरुङको तर्क छ । ‘उहाँले आवश्यक कागजात नल्याई काम गर्न दबाब दिनुहुन्छ । क्यामरा देखाएर तर्साउँदैमा हामी प्रक्रिया नपुगेको काम कसरी गर्न सक्छौँ ?’, गुरुङ भन्छन्, ‘उहाँको नाममा काठमाडौँ, चितवनमा घरजग्गा रहेको हाम्रो सिस्टममा देखियो । त्यसलाई नदेखाइकन अंशबण्डा गर्ने भन्नुहुन्छ ।

नियमअनुसार त्यो काम हुनै सक्दैन । आवश्यक कागजात नभई हामी काम गर्न सक्दैनौँ । लेखापढी होस वा जो कोही नियम बिपरीत हामी जान सक्दैनौँ । प्रक्रिया पूरा नभएका कामहरु हामीबाट हुँदै हुँदैन ।’ ढकालले कार्यालयमा आएर अश्लिल शब्द प्रयोग गर्नुका साथै, अनुमति बिना अडियो भिडियो खिचेर ड्युटीमा रहेका कर्मचारीमाथि धाकधम्की दिएर आतंकित पार्ने काम गरेको गुरुङको आरोप छ ।

उनी भन्छन्, ‘विधि र प्रक्रियाअनुसार उहाँँहरु आफ्नो नाममा रहेको घरजग्गा लुकाएर कागजात नदिई अंशबण्डा गर् भनेर कराउनुहुन्छ । नियम बिपरीत काम गर्ने छुट कसैलाई छैन । उहाँले दुई दिनदेखि मालपोत कार्यालयको सेवा प्रबाहमा अवरोध पु¥याइरहनु भएको छ । यसबाट समग्र कार्यालयको इज्जत प्रतिष्ठा दाउमा परेको अवस्था छ ।’ गुरुङले मालपोतका कुनै पनि कर्मचारीहरुसंग कसैले पैसाको कुरा पनि नगरेको आफूहरुले दुव्र्यबहार पनि नगरेको बताउँदै यस विषयमा मालपोत कार्यालय जहाँकही जवाफ दिन तयार रहेको बताएका छन् ।

यस्तै कार्यालयका प्रमुख जगदीश मिश्रले पनि लेखापढी व्यवसायीको कमजोरीका कारण यस्तो अवस्था सिर्जना भएको बताएका छन् । ‘उहाँहरुको अंशबण्डाको काम रहेछ । प्रावधान अनुसार जग्गाजमिन जहाँ भएपनि स्थायी ठेगानाबाटै अंशबण्डाको काम हुने हो । उहाँहरुको काठमाडौँ, चितवन लगायत ठाउँमा जग्गा जमिन रहेछ तर त्यहाँ राजश्व तिरेको भौचर र आवश्यक कागजात लिएर आउनुपर्छ । अनि बल्ल यहाँबाट काम हुने हो’, कार्यालय प्रमुख मिश्रले भने, ‘चाहिने कागजात नल्याई काम मात्र गर् भनेर हामीमाथि अनर्गल प्रचार गर्न खोज्नु उचित काम होइन ।’

कार्यालयले लेखापढी व्यवसायी ऋषिराम देवकोटालाई बोलाएर केरकार गरिसकेको उनले बताएका छन् । मालपोत कार्यालयले बिहिबार सबिन ढकाल र भू–सेवाका ऋषिराम देवकोटालाई राखेर छलफल समेत गरेको छ । उक्त छलफलमा लेखापढी व्यवसायी देवकोटाले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । सो विषयले चर्को रुप लिएपछि दुवै पक्ष प्रमुख जिल्ला अधिकारीसम्म पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै पक्षलाई बोलाएर छलफल गराएको बताएका छन् । बिचौलियाले बीचबीचमा पैसाको डिमाण्ड गर्नु अनैतिक काम भएको उनको भनाइ छ । सेवाग्राहीले आवश्यक कागजात र प्रक्रिया पु¥याएर आउनु पर्ने भन्दै उनले अबका दिनमा बिचौलिया, लेखापढी र असम्बन्धित व्यक्तिहरुलाई मालपोत कार्यालयभित्र प्रवेश गर्न नदिन निर्देशन दिएको प्रजिअ दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्