
भीमसेन थापा र शहीद लखनमा सोलार लिफ्ट खानेपानी आयोजना निर्माण
शहिदलखन गाउँपालिका–५ जुम्लीचौतारा क्षेत्रमा निर्माण भएको सोलार लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । रिन्यूवन वल्र्डको आर्थिक तथा प्रविधिक सहयोग, गाउँपालिकाको साझेदारी र गोरेटो गोरखाको व्यवस्थापनमा सो आयोजना निर्माण भएको हो ।
युनिका फाउण्डेशन र रिन्यूवन वल्र्डको तर्फबाट २५ लाख, पालिकाको २१ लाख ५० हजार र बाँकी श्रमदानबाट आयोजना निर्माण गरिएको हो । करिव ५८ लाख खर्चेर निर्माण भएको उक्त आयोजनाबाट ६० घरधुरी लाभान्वित हुने गोरेटो गोरखाले बताएको छ ।
त्यस्तै सोही संस्थाको सहयोगमा भीमसेन थापा गाउँपालिका–४ सिउडीवार धावामा माओवादी शहिद एन्जिला बिकको नाममा सोलार खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । सोमबार एक कार्यक्रमका बीच आयोजनाको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले उद्घाटन गरेका छन् ।
३५ लाख लागतमा निर्माण भएको उक्त आयोजनाबाट २७ घरधुरी लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका सचिव निरञ्जन खनालले बताए । सोलार प्रविधि जडान भएको सो आयोजना निर्माणमा युनिका फाउण्डेशन र रिन्यूवन वल्र्डको तर्फबाट २५ लाख रुपैयाँ प्राप्त भएको थियो ।
त्यस्तै गाउँपालिकालले ७ लाख र बाँकी रकम श्रमदानबाट जुटाइएको संस्थाले जनाएको छ । आयोजना अन्तरगत १५ घनमिटरको पम्प ट्याङकी र २० घनमिटर क्षमताको रिजर्भ ट्याङकी निर्माण भएको छ ।




