
चुमनुव्रीको गाउँ कार्यपालिका बैठक : बेनिघाट लार्के सडकका लागि थप बजेट माग गर्ने
विभिन्न निर्णय गर्दै चुमनुव्री गाउँपालिकाको गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलवार भएको बैठकले होम स्टे संचालन सम्बन्धी कार्यविधि २०८१ पास गरेको छ । ‘यसअघि पालिकामा होम स्टे दर्ता गरेर संचालन गर्ने त्यसको नियमन गर्ने भन्ने थिएन,’ प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले भने, ‘अव कार्यविधि बनाएका छौ, त्यही कार्यविधी अनुसार होम स्टेहरु संचालन हुन्छन् ।’
अनिवार्य रुपमा दर्ता गरेर होम स्टे संचालन गर्नुपर्ने र दर्ताका लागि कम्तिमा पाँच जनाको इकाइ बनाएर प्रतिवद्धता सहित वडाको सिफारिस लिएर आउनुपर्ने कार्यविधिमा उल्लेख भएको उनले जानकारी दिए । बैठकले स्कुल बाहिर रहेका प्रारम्भिक बालबिकास केन्द्रलाई मसलन्द खर्च वापत बार्षिक दश हजारका दरले रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
त्यस्तै चुमकल्याण समिति र नुव्री समाजलाई १ सय १५ वटा दरले कर्ची वितरण गर्ने निर्णय पनि भएको छ । पालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमलाई स्वीकृती दिने निर्णय समेत बैठकले गरेको लामिछानेले बताए । ‘यो बर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका वडागत योजना छनोट गर्ने र मनसुन र विपदमा क्षति भएका योजनाहरुको मर्मत संहार गर्ने निर्णय पनि भएको छ,’ उनले भने ।
फिलिम जोडने बुढीगण्डकीमाथि मोटरेवल पुल निर्माणका लागी डिपिआर तयार गर्न स्थानीय पूर्वाधार बिभागमा लेखि पठाउने निर्णय भएको उनले जानकारी दिए । निषेधित क्षेत्र भएकाले हेलि उद्वार लगायतका काममा समस्या भएको भन्दै निषेधित क्षेत्र खुल्ला गरिदिन गृहमन्त्री र प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।
‘बेनिघाट लार्के सडक निर्माणका लािग नँया ट्रयाक खोल्न यो बर्ष जम्मा सात करोड रकम विनियोजन भएकाले बजेट थप गरिदिन भौतिक पूर्वाधार मन्त्रालयको सडक बिभागलाई पत्राचार गर्ने निर्णय पनि गरेका छौ,’ लामिछानेले भने । बैठकले चुम्चेत छेकम्पार सिर्दिवासमा नेपाल टेलिकमको फोर जी टावर निर्माण र सेवा विस्तार गर्न नेपाल टेलिकम वाइरलेस सेवा निर्देशनालयलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
फिलिम र पाती जोड्ने झोलुङ्गे पुल निर्माण गर्न स्थानीय पूर्वाधार बिभागलाई अनुरोध गर्ने भनिएको छ । वडा नम्वर ७ छुलेमा रहेको पोस्यो हिमाललाई आरोहणयोग्य हिमालको सूचिबाट हटाउन माग गर्न निर्णय समेत बैठकले गरेको छ । ‘पछिल्लो समय नेपाल सरकारले त्यो हिमालाई आरोहणयोग्य हिमालको रुपमा राखेको छ, तर त्यहाँको धार्मिक र सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै आरोहणयोग्य हिमालको सूचिबाट त्यसलाई हटाउन पर्यटन बिभागलाई पत्राचार गर्ने भन्ने निर्णय पनि बैठकमा भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत लामिछानेले भने ।
पोरखाको माउण्टेन म्यूजियममा समग्र चुमनुव्री देखिने गरी मनास्लुको थ्रि डि मोडल बनाउन यो बर्ष थप चार लाख बजेट विनियोजन गर्ने निर्णय बैठकले गरेको छ । यसअघि उक्त योजनाका लागि ६ लाख बजेट विनियोजन भइसकेको छ । कार्यपालिका बैठक अनुसार पालिकाको दोस्रो पञ्चबर्षिय आवधिक योजना निर्माणका लागि आज कार्यशाला गोष्ठी गरिने छ । न्यायिक समितिको सचिवालयका लागि आवश्यक कोठा, फर्निचर र कर्मचारीको व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।




