
गोरखा – घ्याम्पेसाल विद्युत लाइन बिस्तारः अझै सुल्झियन जग्गा विवाद
गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीको बिद्युत लाइन बिस्तारको क्रममा देखिएको जग्गा विवादको समस्या अझै सुल्झिएको छैन । विवादका कारण गोरखा नगरपालिका वडा नम्वर ६, ८ र ९ को करिव दुई किलोमिटर क्षेत्रमा लाइन विस्तार हुन सकेको छैन । गोरखा नगरपालिकाले सडकको मापदण्ड निर्धारण नगर्दा समस्या भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले बताए ।
‘नगरपालिकाले सडकको मापदण्ड निर्धारण गरेसँगै हामी काम सुरु गर्छाै,’ उनले भने, ‘तर अहिलेसम्म मापदण्ड निर्धारण भएको छैन ।’ मापदण्ड निर्धारण भएमा तिहार लगतै काम सुरु हुने उनले जानकारी दिए । उनका अनुसार जिल्लाको विद्युत अनियमिततालाई कम गर्ने उदेश्य सहित लाइन बिस्तारको काम सुरु गरिएको होए ।
विवादित क्षेत्रवाहेक अन्य ठाउँमा भने काम लगभग सम्पन्न भइसकेको उनको भनाइ छ । हालसम्म करिब ८० प्रतिशत काम भइसकेको गुरुङले जानकारी दिए । ‘हाल जिल्लामा ११ केभीको एउटै लाइन धेरै क्षेत्रमा फैलिएको छ, यसो हुँदा एक ठाउँमा सानो समस्या हुने बित्तिकै त्यो लाइनले छोएको ठाउँहरुमा लाइन जाने समस्या हुन्छ’, उनले भने, ‘लाइन जाने क्रमलाई कम गर्ने उदेश्य सहित ११ केभीको लाइनलाई छोट्टाएर वितरण गर्ने तयारी भईरहेको छ ।’ लाइन छोटो भएमा विद्युतीय अबरोध कम हुने उनले बताए ।
हाल प्राधिकरणले गोरखा सब–स्टेशनबाट घ्याम्पेसालस्थित मसेलमा ३३ केभी लाइन लैजाने र त्यहाँबाट ११ केभीमा ब्रेकडाउन गरेर अन्य ठाउँहरुमा वितरण गर्ने तयारी गरिरहेको छ । मसेलको सबस्टेशन निर्माण, लाइन बिस्तार लगायत सम्पुर्ण कामहरु सम्पन्न भईसकेको प्राधिकरणले जनाएको छ । गोरखा नगरपालिकाको विवाद मिले यही हिउँदभित्र सम्पुर्ण काम सम्पन्न हुने कार्यालयले जनाएको छ ।
विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तरगत गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभी लाइन बिस्तारको काम संचालन गरिएको हो । आयोजना संचालन भएको करिब ६–७ वर्ष बितिसक्दा पनि हालसम्म सम्पन्न हुन नसकेको कार्यालय प्रमुख गुरुङ बताउँछन् ।
‘यो कामका लागी धेरै पटक म्याद थप भईसकेको छ, जग्गा विवादकै कारण लाइन बिस्तारको काम लम्बिएको हो’, उनले भने । विद्युत क्षेत्रको काम शत प्रतिशत सम्पन्न नभएसम्म सुचारु नहुने भएकाले पनि एक ठाउँको विवादले वर्षाैसम्म काम अड्किएको उनले बताए । सो क्षेत्रको काम सम्पन्न भए अन्य ठाउँमा पनि लाइन विस्तारको काम हुने बताइएको छ ।




