
डेंगुको बिरामीले भरियो गोरखा अस्पताल
प्रतिक्षा आले मगर ।
केही दिन यता गोरखा अस्पतालमा डेंगुका बिरामीको चाप बढ्दो छ । चेकजाँचका लागि आउने अधिकांशमा डेंगुको संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनालले बताए । ‘चेकजाँका लागि आउने अधिकांश ज्वरोका बिरामी छन्,’ उनले भने, ‘उहाँहरुमध्ये अधिकांशमा डेंगु संक्रमण पुष्टी हुने गरेको छ ।’
आईतबार मात्र गोरखा अस्पताल आउने बिरामीमध्ये १५ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनका अनुसार गत हप्ता ४८ जना र अघिल्लो हप्ता सबैभन्दा धेरै ६१ जनामा संक्रमण पुष्टि भएको थियो । मौसम परिवर्तका कारण पनि सिजनल ज्वरोका बिरामी बढेको खनालले जानकारी दिए । बिरामीको चापका कारण एक जना चिकित्सकले दैनिक दुई सयभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था रहेको उनले बताए ।
जिल्लामा डेंगु रोगका बिरामीहरुको संख्या ह्वात्तै बढेको स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कले देखाउँछ । कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको हालसम्म ६ सय ८८ जनामा डेंगु संक्रमण पुष्टी भइसकेको छ । सबैभन्दा धेरै गोरखा नगरपालिकामा ५ सय ४०, आरुघाटमा ६२, पालुङटार नगरपालिकामा ५५, शहिद लखन गाउँपालिकामा १२, गण्डकीमा १० र बारपाक सुलिकोटमा ३, अजिकोटमा ३, भीमसेन थापामा २ र चुमनुव्री गाउँपालिकामा १ जनामा डेंगु संक्रमण पुष्टी भइसककेो छ ।
किन ह्वातै बढ्यो संक्रमण ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गोरखासहित कास्की, तनहुँ, काठमाडौं, पर्वत, चितवन र ललितपुर जिल्ला डेंगुको उच्च जोखिममा छन् । पछिल्लो हप्ता पानी पर्न रोकिएसँगै डेंगुका लार्भा सक्रिय हुन थालेका छन् । जसका कारण डेंगु संक्रमण बढ्दो छ ।
‘मनसुन सक्रिय हुँदा डेंगुका लार्भा जमेर बसेको ठाँउबाट बगाएर जाँदा लामखुट्टेको वृद्धि विकास कम भएको थियो’, फिजिसियन डा. बिमल शर्मा चालिसेले भने, ‘अहिले लार्भाले वयस्क हुन पाउँदा डेंगुको सक्रियता बढ्दै गएको छ ।’ चिकित्सकका अनुसार डेंगु संक्रमण भएका अधिकांश बिरामीलाई घरमै बसेर आराम गरेमा सञ्चो हुन्छ । तर जटिल लक्षण देखिए तुरून्तै अस्पताल जानुपर्छ र संक्रमितलाई भर्ना गरेर उपचार गर्न जरूरी हुन्छ ।
डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेर गएका बेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेज हुन्छ । ‘यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घटेर सकमा जान सक्ने सम्भावना हुन्छ’, डा. चालिसे भन्छन् ।
संक्रमित व्यक्तिलाई श्वासप्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझुपर्ने चिकित्सक बताउँछन् ।
व्यवहार परिवर्तन गरौं
डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
एक्कासी उच्च ज्वरो आउनु डेंगु मुख्य लक्षण हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् । डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।
ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ । बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ ।




