| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखामा यो बर्ष खाद्यको ३ हजार ५ सय क्विन्टल चामल ढुवानी हुने

उत्तरी गोरखामा यो बर्ष खाद्यको ३ हजार ५ सय क्विन्टल चामल ढुवानी हुने भएको छ । सिर्दिवास डिपोका लागि २ हजार, नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रका लागि ७ सय ५० क्विन्टलका दरले कोटा निर्धारण भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ ।

‘सिर्दिवास डिपोमा गोरखाबाट एक हजार क्विन्टल चामल ढुवानी हुन्छ,’ कार्यालयका सूचना अधिकारी शिव सुनारले भने, ‘बाँकी एक हजार रिले केन्द्र बिमलनगर तनहूँबाट हुन्छ ।’ ठेक्का स्वीकृत भएर सम्झौता हुन बाँकी रहेको उनले बताए । चामल ढुवानीको ठेक्का चुमनुव्री गाउँपालिकाको दुधपोखरी निर्माण सेवा एण्ड सप्लायर्स प्रालिले पाएको उनले जानकारी दिए ।

उनका अनुसार यो बर्ष सोना मंसुली र स्टिम जिरा मसिनो चामल ढुवानी हुने छ । सिर्दिवास डिपोमा जिरा मसिनो चामलको मूल्य प्रति केजी ९२ रुपैया निर्धारण गरिएको छ । सोना मंसुलीको ६७ रुपैया पर्ने बताइएको छ । नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रमा भने जिरा मसिनाको ९२ र सोना मंसुलीको ६८ रुपैया प्रति केजी मूल्य निर्धारण गरिएको कार्यालयले जनाएको छ । उत्तरी गोरखाका स्थानीयलाई लक्षित गरी नेपाल सरकारले खाद्यको चामलमा ढुवानी भाडा सहुलियत दिदैँ आएको छ ।

यो बर्ष माछाखोला डिपोका लागि भने टेण्डर नखुलाइएको कार्यालयका सुनारले बताए । विगत पाँच बर्षदेखि उक्त डिपोबाट चामल बिक्री वितरणको दर ज्यादै न्यून रहेकाले यो बर्ष टेण्डर आव्हान नगरिएको उनले जानकारी दिए । ‘त्यो डिपोबाट खासै चामल बिक्री भएको देखिएन,’ उनले भने, ‘फेरी त्यहाँका स्थानीयलाई आवश्यक परे गोरखा बजारबाट पनि तुरुन्त पठाउन सकिने भयो वा सिर्दिवासबाट पनि ल्याउन सकिने अवस्था रह्यो ।’

प्रतिक्रिया दिनुहोस्