
उत्तरी गोरखामा हेलिकोप्टर उँडान सहज बनाऊ
भौगोलिक रुपमा बिकट रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम पनि अहिलेसम्म सडक सञ्जालले जोडिएको छैन । त्यहाँभन्दा माथिका छवटा वडाहरु पनि सडक सञ्जालमुक्त छन् । एक्काइसौं सताव्दीको विकासको चरमोत्कर्सको यो समयसम्म पनि त्यहाँका बासिन्दा गम्भीर बिरामी पर्दा, घाइते हुँदा, सुत्केरी हुन नसक्दा हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता छ । हेलिकोप्टर उँडानको अनुमति पाउन ढिलाइ तथा अन्य प्राविधिक कारणले बर्षेनी कैयौँको ज्यान जाने गर्दछ ।
स्थानीय प्रशासन, स्थानीय, प्रदेश र केन्द्र सरकार यो घटनाको मुक दर्शक छ । दैनिक उपभोग्य सामान ढुवानी गर्न जोखिम बाटोका कारण यस क्षेत्रमा बर्खाका बेला खच्चड पनि हिँड्दैन । तिब्बती नाका छ बर्षमा बल्लतल्ल यसपटक खुल्यो, त्यही पनि दुव्र्यबहार गर्दै म्याद गुज्रिएको सामान भिडाएर पठायो । त्यहाँको जनजीवनको कथा कहानी ज्यादै दर्दनाक छ ।
बजार अहिले विदेशी स्याउले भरिएको छ । तर उत्तरी गोरखाको नाम्रुङमा करिब ६० हजार किलोग्राम, ल्होमा करिब १० हजार किलोग्राम स्याउ उत्पादन भएको छ । सिर्दिबासको आङासस्र्युँ, न्याक लगायतका ठाउँमा पनि व्यवसायिक उत्पादन भएको स्याउ ढुवानी गर्न सकिएको छैन । ढुवानी गर्ने साधनको अभावमा त्यही ठाउँमा भण्डारण गरेर राखिएको छ ।
त्यहाँको जनस्वास्थ्य, शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक चेतनाको अबस्था पनि उत्तिकै कमजोर छ । सरकारले न त्यहाँ सडक निर्माण गर्न यथेष्ट बजेट बिनियोजन गर्छ, न पैसा खर्च गरेर हेलिकोप्टरको प्रयोग गर्न सहज रुपमा अनुमति दिन्छ ।
अवैध सामान, अवैध मान्छे ओसारपोसार वा आवतजावत गर्ला भन्ने आशंका हो भने हेलिकोप्टर ल्याण्ड गर्ने, टेकअफ गर्ने ठाउँमा परिचालन गर्न प्रहरी जनशक्ति यथेष्ट छँदैछ ।
कि आफ्नै माताहतको निकायमाथिको अनविश्वास हो कि ? नत्र खर्च गरेर सेवा सुविधाको उपभोग गर्नबाट दुर्गमका बासिन्दालाई बञ्चित गर्नु न्यायोचित हुन्न । सुरक्षा व्यवस्था सुदृढ गर्दै उत्तरी गोरखामा हेलिकोप्टर उँडानलाई सहज बनाउन सरकारी निकायले सहजीकरण गर्नु उचित हुन्छ ।




