| आइतवार, कार्तिक २२, २०८३

केवलकारसँगै खुले मनकामनाका बन्द व्यवसायिक सटरहरु

स्तरोन्नति पश्चात संचालनमा आएको पहिलो दिन करिव २ हजार ६ सय जनाले मनकामना केवलकार चढेका छन् । आवश्यक मर्मत र स्तरोन्नतिका लागि भन्दै गत असार ३१ गतेबाट केवलकार बन्द भएको थियो । दुई महिनापछि हिँजो मंगलवारबाट पुनः केवलकार संचालनमा आएको हो ।

पहिलो दिन मंगलवार २ हजार ६ सय र दोस्रो दिन वुधवार करिव दुई हजार जनाले केवलकार चढेको मनकामना दर्शन प्रालिका प्रवन्ध नायव प्रवन्धक उज्वल शेरचनले बताए । केवलकार चढ्नेमा अधिकांश भारतीय पर्यटक रहेको उनले जानकारी दिए ।
२६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार अबबाट ‘डिजिटल’ प्रविधिमा संचालन भएको छ ।

दुई महिना सेवा बन्द गरेर केवलकारलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिएको प्रालिका नायव प्रवन्धक शेरचनले बताए । ‘रंगरोगनसँगै स्टेशनमा छाना फेर्ने कामहरु पनि भएको छ,’ उनले भने । दुई महिना केवलकार बन्द हुँदा मनकामना आउने भक्तजनको संख्या ह्वात्तै घटेको थियो ।

मनकामना मन्दिरका मुल पुजारी इन्सान थापा मगरका अनुसार तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेका थिए । यसको प्रत्यक्ष प्रभाव मनकामना क्षेत्रको व्यापार व्यवसायमा पनि परेको थियो । अधिकांश रेष्टुरेष्ट तथा लजहरु बन्द भएका थिए । केवलकार संचालनमा आएसँगै बन्द भएका व्यापार व्यवसायहरु चलायमान हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्