| मङ्लबार, कार्तिक २४, २०८३

तीन दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाइने

यस बर्षको संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले तीन दिन विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ । गोरखा नगरपालिकाको अगुवाईमा आज (वुधवार) बिहान ७ बजे बसपार्कदेखि रानीपोखरी परिसरमा सरसफाई गरिने भएको छ ।

कार्यक्रम पश्चात स्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन हुने छ । टोल बिकास संस्थासँग समन्वय गरी सोही दिन सरसफाइ कार्यक्रम संचालन गर्न जिल्लास्थित सबै स्थानीय तहहरुलाई आग्रह गरिएको छ । कार्यालय समय पश्चात कार्यालय परिसरको सरसफाई गर्न जिल्लास्थित सबै सरकारी कार्यालयहरुलाई भनिएको छ ।

भोली बिहीवार नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको समन्वयमा रक्तदान कार्यक्रम संचालन हुने छ । सोही दिन बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय परिसरबाट बाजागाजा सहितको प्रभातफेरी कार्यक्रम हुने बताइएको छ । असोज ४ गते शुक्रवार डिभिजन वन कार्यालयको अगुवाइमा उपयुक्त स्थान छनोट गरि वृक्षारोपण कार्यक्रम गरिने निमित्त प्रमुख जिल्ला अधिकारी चुडानिधि तिवारीले बताए ।

‘भोलीबाट तीन दिन सबै सरकारी कार्यालय, प्रतिष्ठान तथा संघसंस्था र आम नागरिकका घरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राख्न र साँझ दीप प्रज्वलन तथा दिपावली गर्न आव्हान समेत गरेका छौ,’ उनले भने । शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाको समन्वयमा सबै स्थानीय तहको शिक्षा युवा तथा खेलकुद शाखाले फरक क्षमता भएका बिद्यार्थीका लागि खेलकुद सामग्री समेत वितरण हुने उनले जानकारी दिए ।

जिल्लाका सार्वजनिक सवारीमा तीन दिन निर्धारित साइजको राष्ट्रिय झण्डा मर्यादापूर्वक राख्न यातायात व्यवसायीलाई भनिएको छ । दिवसकै अवसरमा ऐतिहासिक आन्दोलनका शहिद परिवार तथा घाइतेहरुलाई सम्मान कार्यक्रम आयोजना गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । साथै शिक्षा बिकास तथा समन्वय इकाइको समन्वयमा जिल्ला स्थित कलेज तथा बिद्यालयहरुमा नेपालको संविधान, संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डा लगायतका बिषयमा कविता, वक्तृत्वकला, हाजिरीजवाफ जस्ता प्रतियोगिता संचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्