| मङ्लबार, कार्तिक २४, २०८३

दरौँदी दैनिकको २७ औँ वार्षिकोत्सव : गोरखाको पत्रकारिताको असल नेतृत्व गर्न सुझाव

गोरखाबाट प्रकाशित पहिलो समाचारमुलक पत्रिका दरौँदी दैनिकले आफ्नो २७ औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार ‘पत्रकारिताको वर्तमान अवस्था’ विषयक मिडिया सम्वाद कार्यक्रम आयोजना गरेर दरौँदीले आफ्नो वार्षिकउत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले दरौंदी गोरखाको सबैभन्दा जेठो पत्रिका भएकाले जिल्लाको पत्रकारिता जगतको असल नेतृत्वदायी भूमिकाबहन गर्न सुझाव दिए । मिडियाहरुलाई निराशाजनक समाचार सम्प्रेषण नगर्न उनको सुझाव छ । ‘नकरात्मक समाचारका कारण युवा जमातमा निराशा फैलिएको छ, त्यसैले त कोही पनि देशमा बस्न चाहन्नन् । मिडियाहरुले सकरात्मक कुराहरु पनि बाहिर ल्याउन जरुरी छ’, उनले भने ।

मेयर रानाले गोरखा नगरपालिकाले मिडियाका लागि गर्नुपर्ने सहयोग पनि पर्याप्त रुपमा गर्न नसकेको बताएका छन् । यस्तै उनले आफु मिडियाकर्मीहरुसँग टाढा बसेको जस्तो अनुभूति भएको र टाढापनलाई हटाउका लागि आवश्यक कदम चाल्ने बताएका छन् । ‘म आफुपनि मिडियाहरुका लागि गर्नुपर्ने काम नगरेको, उहाँहरुबाट टाढा बसेको जस्तो महसुस गरिरहेको छु । यो दुरीलाई कम गर्नका लागि मैले पक्कै पनि केही गर्नुपर्छ’, उनले भने ।

कार्यक्रमको अध्यक्षता गरिरहेका दरौँदी प्रकाशन समूहका अध्यक्ष किशोरजंग थापाले धरासायी बनेको जिल्लाको पत्रकारितालाई सबै निकाय मिलेर संरक्षण गर्नुपर्ने बताएका छन् । पत्रकारिता समाजको ऐना भएकाले समाज सकारात्मक गतिमा अघि बढेको भए पत्रकारले नकारात्मक समाचार संप्रेषण गर्न नसक्ने बताएका छन् । ‘पत्रकारिता समाजको ऐना हो ।

समाजमा सकारात्मक गतिविधि भएको भए सञ्चार माध्यमहरुमा सकारात्मक समाचार नै देखिन्छ । नकारात्मक क्रियाकलापहरु भएका छन् सञ्चार माध्यमहरुमा त्यही देखिन्छ’, उनले भने, ‘त्यसैले सञ्चार माध्यमले नकारात्मक समाचार धेरै संप्रेषण ग¥यो भनेर आरोप लगाउनु उचित छैन ।’ यो बिषम परिस्थितिमा पत्रकारिता जगतलाई बचाइराख्न स्थानीय सरकारको मुख्य दायित्व रहेको उनको भनाइ थियो ।

पत्रकार महासंघका पूर्वअध्यक्ष एवं कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता भीमलाल श्रेष्ठले पत्रकारिता सदियौँदेखि समाजको अभिन्न अंगका रुपमा रहेकाले यसलाई जोगाइराख्न सबैको साथ र सहयोगको खाँचो औंल्याए । तर पत्रकार स्वयंका कारणले वर्तमान अवस्थामा पत्रकारिताको साख गिरिरहेकाले पत्रकारले संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

‘यदि यस्तै अवस्था हो भने पत्रकारिता पर्चाकारितामा परिणत हुन्न भन्न सकिन्न’, उनले भने, ‘राजनीतिक आडमा पत्रकारिता गर्नेहरुको जमात बढिरहेको बेला हामीहरुले स्वच्छ पत्रकारिता गरेर जनताको विश्वास जित्न जरुरी छ ।’ मिडियाकर्मीहरु राजनीतिक आस्थाको आधारमा विभाजित र पूर्वाग्रही बन्दै गएकोमा उनले चिन्ता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले स्थानीय मिडियाको बचाउ स्थानीय सरकारले नै गर्नुपर्नेमा जोड दिए । ‘मिडिया संरक्षणको दायित्व स्थानीय सरकारको हो, यसतर्फ सबै स्थानीय तहको ध्यान जाओस्’, उनले भने, ‘व्यापार व्यवसाय चलायमान भए मात्र जिल्लाका मिडिया चल्न सक्छ, त्यसैले जिल्लाको आर्थिक पक्ष उकास्ने नीति अबलम्बन गर्न जरुरी छ ।’

यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वासुदेव पाठकले प्रहरी र पत्रकार पेशागत रुपमा एकापसमा जोडिएकाले पनि सहकार्य गरेर अघि बढनु जरुरी रहेको बताएका छन् । ‘हामीले कतिपय सूचनाहरु पत्रकारहरुबाट थाहा पाइरहेका हुन्छौँ भने हामीहरुले पनि उहाँहरुलाई आवश्यक पर्ने सूचना समयमै दिइरहेका छौँ’, उनले भने ।

यता गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठले जिल्लामा पत्रिकार, रेडियो, टेलिभिजन, अनलाइन र न्यूमिडिया एकैठाउँबाट सञ्चालन गर्ने बलियो मिडिया हाउसको आवश्यकता रहेको बताए । यस्तै, गोरखा क्याम्पसका प्रमुख नवराज पाण्डेले दरौँदी पत्रिकाले समग्र जिल्लाको पत्रकारिताको अगुवाइ गरिरहेको बताए ।

मानव अधिकार संजालका अध्यक्ष यदु अधिकारीले पनि जिल्लाको पत्रकारिता दरौंदीले गरिरहेको अभ्यास प्रशंसायोग्य रहेको बताए । एमालेका जिल्ला सचिव काजीराम रोकाले पत्रकारिता संरक्षण गर्नका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबध्ता व्यक्त गरे । पत्रकार महासंघ गोरखाका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकालले व्यवसायिक पत्रकारिता धरासायी अवस्थामा रहेका कारण यसको संरक्षणमा सबै निकाय लाग्नु पर्ने बताए ।

जिल्ला हुलाक कार्यालयका प्रमुख बिनोद गैरेले सबै कार्यालयहरुले नागरिकको सुसुचित हुन पाउने अधिकार सुनिश्चित गर्नु पर्ने बताएका छन् । दरौँदी प्रकाशन समूहका अध्यक्ष किशोरजंग थापाको अध्यक्षता एवं गोरखा नगरपालिकाका प्रमुख कृष्ण बशहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दल, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, मिडियाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्