
गाउँमा भन्दा कुपोषणको समस्या सहरमा धेरै
प्रतिक्षा आले मगर
‘गाउँमा भन्दा सहरी क्षेत्रमा कुपोषणका केसहरु धेरै देखिएको छ, । सहरका शिक्षित र हुनेखानेवर्गले छोराछोरीलाई पत्रु खाना खुवाएका कारण उनीहरुमा कुपोषण देखिएको हो । गाउँघरका बालबच्चाले स्थानीय उत्पादन, ताजा, स्वस्थ खाना पाउने हुँदा कुपोषणको दर गाउँमा भन्दा सहरमा बढि देखिएको हो ।’– जनस्वास्थ्य अधिकृत नवराज खड्का
ठूला ठूला पूर्वाधार विकास गरेर मात्र देश विकसित बन्ने होइन । सडक, भवन निर्माणमा मात्र मन, ध्यान जाँदा जनताको अत्यावश्यक अर्को पक्ष पोषण भने ओझेलमा पर्ने गरेको छ । पूर्वाधार विकास भनेको हार्डवेयर हो, शिक्षा, स्वास्थ्य सफ्टवेयर हो । व्यक्तिले खाने खाना पोषणयुक्त भएन भने उसको स्वास्थ्य राम्रो हुँदैन, स्वास्थ्य राम्रो भएन भने मानसिक विकास हुँदैन । यसको दुश्प्रभाव देश विकासमा पर्छ ।
विभिन्न पोषणविदहरुले पनि नेपाल पछाडि पर्नुको मुख्य कारण नेपालीमा पोषणको कमी हुनु रहेको बताउँदै आएका छन् । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार जिल्लाको पालुङटार नगरपालिका, गण्डकी, आरुघाट गाउँपालिका लगायतका क्षेत्रहरुमा अझैँ पनि कुपोषणका समस्याहरु रहेका छन् । सदरमुकाम क्षेत्रमा पनि बेलाबखत बालकालिकाहरुमा कुपोषण देखिने गरेको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नवराज खड्काले बताए । ‘गाउँमा भन्दा पनि सहरी क्षेत्रमै कुपोषणका केसहरु देखिएको अवस्था छ, । शहरी क्षेत्रमा मजदुरी गर्ने महिलाहरुको बच्चाबच्चीहरुमा कुपोषण देखिने गरेको छ’, उनले भने, ‘शहरका शिक्षितवर्गहरुले पनि बालबालिकाहरुलाई बढी मात्रामा पत्रु खाना खुवाएर उनीहरुमा समेत कुपोषण देखिएको अवस्था छ ।’ गाउँतिरका बच्चाहरुलाई घरकै स्वस्थ खाना खुवाउने हुँदा कुपोषणको दर गाउँको तुलनामा शहरमा बढी रहेको उनले जानकारी दिए ।
‘विषेशतः पालुङटार नगरपालिका, आरुघाट, गण्डकी गाउँपालिका र गोरखा नगरपािलकामा कुपोषणको जटिल समस्या देखिएको छ’, खड्काले भने, ‘बालबालिकाहरुमा मात्र नभई गर्भवती र सुत्केरी महिलाहरुमा पनि कुपोषण देखिएको छ ।’ सरकारले बालबालिका, गर्भवती, सुत्केरी तथा किशोरीहरुको पोषण सुनिश्चितताका लागि विभिन्न नीति बनाएर काम गरिरहेको उनको भनाइ छ । ‘सरकार, हामी यस विषयमा गम्भीर छौँ । हामीले नियमित रुपमा विभिन्न कार्यक्रमहरु संचालन गरेर पोषणको सुनिश्चितता गरिहेका छौँ’, उनले भने ।
एउटा स्वस्थ बच्चा जन्मिँदा कम्तीमा साढे दुई केजीको हुनुपर्छ तर, गर्भवती अवस्थामा आमाले बढी पत्रु खाना खाने हुँदा बच्चामा जन्मदैँमा कुपोषण देखिने चिकित्सकहरु बताउँछन् । बच्चा स्वस्थ रहे मात्र उसको शैक्षिक र चेतना स्तर राम्रो हुन्छ । शिक्षित बालबालिका भोलिको देशको कर्णधार हुन् । पोषणको क्षेत्रका गरिने खर्च एक किसिमको लगानी रहेको जनस्वास्थ्य निरीक्षक नवराज खड्का बताउँछन् । जिल्लाको पोषण अवस्था अन्य जिल्लाको तुलनामा चाहिँ सन्तोषजनक रहेको उनको भनाइ छ ।
हाल जिल्लामा विभिन्न उमेर समूहका बच्चाहरुलाई बालभिटा तथा भिटामिनहरु खुवाउने तथा हरेक महिना बालबालिकाहरुको उचाइ तथा तौल नाप्ने लगायतका कार्यक्रमहरु नियमित रुपमा संचालन भईरहेका छन् । यसका साथै कार्यालयले १०–१९ वर्षका किशोरीहरुलाई ‘आइरन फोलिक ऐसिड’ (आइरन चक्की) खुवाउने कार्यक्रम समेत संचालन गरिरहेको छ । ग्रामीण भेगका किशोरीहरुले घरयासी काम गर्नुपर्ने भएकाले पनि उनीहरुलाई महिनावारीमा समस्या भई रक्त अल्पता जस्तो रोग लाग्न नदिन यो कार्याक्रम संचालन गरिएको हो ।
स्वास्थ्य कार्यालय गोरखाले यी कार्यक्रम बाहेक पनि आवश्यकता अनुसार विभिन्न समयमा अन्य कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको कार्यालयले जनाएको छ ।




