
गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापनको सुझाव पेश
गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापनका लागि सुझाव दिन गठन भएको उपसमितिले सुझाव प्रतिवेदन बुझाएको छ । यही भदौ २१ गते प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत गोरखा दरवार हेरचाह अड्डालाई प्रतिवेदन बुझाइएको उपसमिति संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारीले बताए ।
पुजारीलाई भक्तजनले दक्षिणा स्वरुप दिएको रकम उनीहरुकै हुने व्यवस्था मिलाउन उपसमितिले सुझाव दिएको छ । मन्दिरमा चढाइएको भेटी भने आधा–आधा गर्न सुझाव दिइएको उपसमितिका संयोजक तिवारीले बताए । ‘भक्तजनले टिका लगाएर दिएको पैसा पुजारी आफैले लिन पाउनुपर्ने, तर मन्दिरमा चढाएको भेटी भने आधा पुजारीलाई र आधा गोरखा दरवारको कोषमा राख्न सुझाव दिएका छौँ,’ उनले भने ।
कोषमा जम्मा भएको रकम सोही ठाउँको आवश्यकता र परिपूर्तिमा खर्च गर्न सकिने व्यवस्था मिलाउन सुझाव दिइएको उनको भनाइ छ । ‘मन्दिरमा हुने नियमित पुजाआजामा बजेट अपुग भएमा, घटेको बली संख्या बढाउन, मन्दिरको सरसफाइ, आवश्यक मर्मत लगायतका कार्यमा कोषको रकम खर्च गर्न सकिने भनेका छौँ,’ उनले भने । गोरखकाली मन्दिरमा भक्तजनले चढाएको सुनचाँदी लगायतका अन्य जिन्सीहरु भने सिधै कोषमा राख्नुपर्ने उपसमितिको सुझाव छ ।
यता गोरखकाली मन्दिर र गोरखनाथ गुफा परिसरमा राखिएको दानपेटिका खोल्नका लागि गोरखा दरबार हेरचाह अड्डाले बिशेष कार्यविधि निर्माण गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ । जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, सुरक्षाकर्मी, गोरखा दरबार हेरचाह अड्डाका प्रतिनिधि लगायतको रोहवरमा सिसिटिभी निगरानी भएको ठाउँमा दानपेटिका खोल्नुपर्ने र सो को विवरण संचार माध्यम मार्फत सार्वजनिक गर्न सुझाव दिइएको छ ।
दान पेटिकाको रकम खर्च गर्नका लागि आवश्यक कार्यविधि बनाउन गोरखा दरवार हेरचाह अड्डालाई जिम्मेवारी दिनुपर्ने बताइएको छ । ‘अन्य बजेट खर्च गरेजस्तै दानपेटिकाको रकम बार्षिक कार्ययोजना बनाएर खर्च गर्ने र खर्चको विवरण अर्ध बार्षिक रुपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिएका छौँ,’ तिवारीले भने । गोरखनाथ मन्दिरका पुजारीलाई दिइँदै आएको पारिश्रमिक समयानुकुल बृद्धि गर्न पनि समितिले सुझाव दिएको छ । गोरखकाली मन्दिरमा चढाएको बलीको टाउँकोको पनि भागवण्डा गर्न समितिको सुझाव छ ।
५० प्रतिशत कोषमा आम्दानी हुने गरी व्यवस्थापन गर्ने र ५० प्रतिशत दरवारका सम्बन्धित पुरोहित, सुसारे र कर्मचारीहरुलाई उपलब्ध गराउन भनिएको छ । यसका लागि पनि कार्यविधि बनाउन दरवार हेरचाह अड्डालाई जिम्मेवारी दिनुपर्ने सुझाव दिइएको छ । समितिले हाल बली दिइदै आएको स्थानलाई केही पर सार्नुपर्ने र केही समयदेखि रोकिदैँ आएको विद्या मन्दिरको पूजालाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिएको छ ।
गोरखकाली मन्दिर र गोरखनाथ गुफाको भेटी व्यवस्थापनका लागि भन्दै यही भदौ ८ गते सर्वपक्षीय बैठक बसेको थियो । प्रजिअ दाहालको संयोजकत्वमा बसेको बैठकले गोरखकाली र गोरखनाथ पूजाको व्यवस्थापकीय सुधारका लागि सुझाव दिन तिवारीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्दै १५ दिनभित्र सुझाव तयार गरी बुझाउन भनेको थियो । सोही आधारमा उपसमितिले सुझाव प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको आधारमा पुनः सर्वपक्षीय भेला बसेर आवश्यक निर्णय गरिने प्रजिअ दाहालले बताए ।




