| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम हुने

गोरखामा गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । संविधान दिवसको सन्दर्भ पारेर गोरखा नगरपालिकाका न्यायिक समितिले असोज ४ र ५ गते कार्यक्रम गर्न लागेको हो । शनिवार पत्रकार सम्मेलन गरी समितिले सो कुरा जानकारी गराएको हो ।

भेलाबाट प्रदेश स्तरीय न्यायिक मञ्च गठन गरिने समितिका संयोजक एवं गोनपाकी उपप्रमुख मसलीमाया थोकरले बताइन् । ‘देशभर पहिलो पटक नै प्रदेश स्तरीय न्यायिक मञ्च गठन हुन लागेको हो,’ उनले भनिन्, ‘यसअघि गोरखा नगरपालिकाकै नेतृत्वमा जिल्लामै पहिलो पटक जिल्ला स्तरीय न्यायिक मञ्च समेत गठन भइसकेको छ ।’

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा हरेक स्थानीय न्यायिक समितिका कार्यसम्पादन तथा गतिविधिबारे अनुभव आदानप्रदान हुने उनले जानकारी दिइन् । असल अभ्यास अनुसरण गर्दै प्रदेशभरका न्यायिक समितिमा एकरुपता कायम गर्न पहल गरिने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय स्तरका कानूनविद र संविधानविदबाट नेपालको संविधानको कार्यान्वयन, चुनौती र अवसर, न्यायिक समितिका सवाल, गण्डकी प्रदेशबाट निर्मित न्यायिक कार्यविधिको मस्यौदा, न्याय सम्पादनका चुनौती, जटिलता र अवसर लगायतका बारे छलफल र कार्यपत्र प्रस्तुत हुन बताइएको छ ।

कार्यक्रमले गण्डकी प्रदेशका ८५ वटै पालिकाहरुमा न्यायिक समितिको कार्यविधिगत एकरुपता कायम गर्न पहल गर्ने अपेक्षा गरिएको छ । ‘स्थानीय न्यायिक समितिको पदाधिकारी र कर्मचारीहरुको काम, कर्तव्य र अधिकार सम्बन्धी क्षमता अभिवृद्धि गर्ने र आगामी दिनमा प्रत्येक स्थानीय तहको न्यायिक कार्यसम्पादन प्रभावकारी बन्ने बिश्वास लिएका छौँ,’ समितिकी संयोजक थोकरले भनिन् ।

कार्यक्रमले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् । करिव तीन सय ५० जनाको सहभागीता रहने उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने बताइएको छ । कार्यक्रमका लागि गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट दुई लाख, मुख्य न्यायधिवक्ताको कार्यालयबाट चार लाख र गोनपाबाट दश लाख ४३ हजार रकम विनियोजन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्