
स्वास्थ्य सूचकमा भच्चेक आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका सर्वाेत्कृष्ट
जिल्लाका ९४ स्वास्थ्य संस्थाहरुमध्ये भच्चेक आधारभूत अस्पताल सर्वोत्कृष्ट भएको छ । आर्थिक बर्ष २०८०/८१ को कार्यसम्पादनको आधारमा गरिएको मूल्याकंनमा बारपाक स्वास्थ्य चौकी दोस्रो र गोरखा नगरपालिकाको तारानगर स्वास्थ्य चौकी तेस्रो बनेको छ ।
साथै एघार स्थानीय तहहरुमध्ये अजिरकोट गाउँपालिका स्वास्थ्य सूचकहरुमा उत्कृष्ट बनेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी गोरखा नगरपालिका दोस्रो र गण्डकी गाउँपालिका तेस्रो बनेको काार्यलयका सूचना अधिकारी नवराज खड्काले बताए । कुल एक सय पूर्णाङ्क अकंभार राखि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले स्वास्थ्य संस्था र पालिकाको कार्यसम्पादनको मूल्याकंन गरेको थियो ।
सोही मूल्याकंनको आधारमा उत्कृष्ट तीन स्वास्थ्य संस्था र पालिका छनोट गरिएको हो । स्वास्थ्य कार्यालय गोरखामा वुधवार र बिहीवार आयोजित दुई दिने जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था र पालिकालाई पुरस्कृत गरिएको थियो ।
स्वास्थ्य कार्यालय प्रमुख यमप्रसाद शर्माको अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागीता रहेको थियो ।




