
चिनियाँ बजारमा किनमेल गर्न गएकामाथि अपमान
लामो समयपछि नाका खुलेकोमा खुशी हुँदै चिनियाँ बजार ‘स्याक्’ गएका चुमबासीहरुले चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट अपमान खेप्नु परेको छ । धेरै युवाहरुले चिनियाँ सुरक्षाकर्मीको कुटपिटसमेत खानु परेको सामान किनेर फर्केका चुमबासीहरुले गुनासो गरे ।
चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका भदौ ५ गतेदेखि र वडा नं. ७ स्थित ङुइला नाका ४ गतेदेखि थोरै समयका लागि खुल्ला भएको थियो । रुइला नाका २० दिन खुलेर गत सोमबारदेखि बन्द भइसकेको छ । एक महिनाका लागि भन्दै भदौ ४ गतेदेखि खुल्ला गरिएको ङुइला नाका भने अझै केहीदिन चल्दैछ ।
सपिङ मलमा भीडभाडको वातावरण बनाएर म्याद गुज्रिएको सामान भिडाएर पठाएको स्थानीयको गुनासो छ । ‘कोभिडभन्दा अगाडि त हामी जोङ्गा सहरसम्म पुग्थ्यौँ । यसपटक जम्मा दुईघण्टाको बाटो टाढाको ‘स्याक’सम्म मात्र जान पायौँ’, त्यहाँबाट फर्केर आएका दोर्जे लामाले भने, ‘नाकामा बस्ने सुरक्षाकर्मीले को को आए भनेर फोटो खिचेर स्याकमा रहेका सुरक्षाकर्मीलाई पठाउँथे ।
स्याक पुगेपछि त्यहाँको ठूलो सपिङमलजस्तो घरमा लगेर ढोका बन्द गरेर राखिदिन्थे । कोही बाहिर निस्कन खोजे भने हातपात गर्थे । बाटोमा हिँड्दा कोही यताउता हिँडे भने पनि हातपात गर्थे । एकदम दबाबमा राख्थे ।’ कसैले मोबाइल चलाउँदा दलाइ लामाको फोटो देखियो भने पनि दुव्र्यबहार गर्ने गरेको उनले गुनासो गरे ।
सामानको मूल्य पनि दिनदिनै बढाउने गरेको र पसल छानीछानी सामान किन्न पनि नपाएको गुनासो अर्का स्थानीय कर्साङ लामाको भनाइ छ । ‘गाउँका धेरै युवाहरुले चिनियाँ सुरक्षाकर्मीको कुटाइ खाए’, उनले भने, ‘एउटा ठूलो हलभित्र लगेर छोडिदिए । जेलमा हालेजस्तो बाहिर निस्किन पनि नपाइने । सामानको भाउ पनि मनपरी बढाउँथे ।
पसल छानीछानी किनुँ भने पनि अरु पसलमा जान पाइएन ।’ चुमबासीले लगेका अलिअलि जडिबुटीहरु पनि राम्रो भाउमा बेच्न नपाएको उनको गुनासो छ । ‘बाहिर निस्किन नपाएपछि सामान किन्दा पनि प्रतिस्पर्धा गर्न पाइएन, यताबाट लगेको जडिबुटी पनि प्रतिस्पर्धा गरेर बेच्न पाइएन । उनीहरुकै भाउमा किन्नुपर्ने, बेच्नुपर्ने बाध्यतामा परियो ।’ पुराना हिसाब पनि मिलाउन नपाएको गुनासो उनको थियो ।
‘हाम्रो गाउँलेसंग पैसा उठाउनु पर्ने भएका उताका साहुहरुचाहिँ हामीलाई भेट्न आए तर हाम्रो गाउँले पैसा उठाउनु पर्ने उताका मान्छे भेट्न जानचाहिँ पाइएन’, दोर्जे लामा भन्छन्, ‘हामी यसपालि धेरै अन्यायमा परेको जस्तो लाग्यो । हाम्रो जनप्रतिनिधिले यो अन्यायका बारेमा बोलेनन् त्यसैले धेरै हेपाइ खाइयो ।’ बाहिर निस्केर अन्यत्र व्यापारी र अरु वडाका बजारमा किनमेल गर्न नदिइएकोप्रति उताकै अरु वडा र अरु व्यापारीहरुले बिरोध गरेका उनले बताए ।
आफ्नै याकचौँरी, झोपामा खाद्यान्न लगायतका सामग्री ढुवानी गरेर ल्याउन पाए सस्तो पर्छ भनेर नाका खुलेपछि खुशी भएको तर उनीहरुकै याकचौरीमा बोक्न बाध्य पारिएकोप्रति पनि स्थानीयबासीको गुनासो छ । आगामि दिनमा तिब्बती बजारमा जाँदा यसपटक जस्तो व्यवहार नगरिदिन पहल गरिदिन गाउँलेको माग छ ।




