
चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजना मर्मतपछि गाउँमा बिजुली बल्यो
बाढीले क्षति पुगेको चुमनुव्री गाउँपालिका–६ स्थित चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजना मर्मतसम्भारपछि पुनःसंचालनमा आएको छ । ७५ किलोवाट क्षमताको उक्त आयोजना मर्मतपछि बुधबारबाट संचालनमा आएको हो ।
गाउँपालिकाको विपद व्यवस्थापन कोष र स्थानीयको श्रमदानबाट आयोजना मर्मत भएसँगै बिद्युत सेवा सुचारु भएको वडाध्यक्ष सरोज लामाले बताए । गत साउन १३ गते राती चमार हिमालबाट झरेको खोलामा बाढी आएर मुहानको ड्याम सहित कुलो र पाइप बगाएको थियो ।
आयोजनामा क्षति पुगेसँगै चुम्चेतको लोक्पा गाउँ वाहेक वडाका सबै गाउँमा बिद्युत सेवा अवरुद्ध बनेको थियो । आयोजना मर्मत भएर बिजुली बल्न थालेपछि स्थानीय खुशी छन् । करिव २५० घरधुरीले उक्त आयोजनाबाट बिजुली बाल्दै आएका छन् ।




