
धार्चे पहिरोमा ज्यान गुमाउनेको परिवारले २ लाख ५० हजार रुपैयाँ पाउने
धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा ज्यान गुमाउनेहरुका परिवारले राहत रकम पाउने भएका छन् । जिल्ला विपद व्यवस्थापन कोषबाट जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताइएको छ । वुधवार बसेको विपद व्यवस्थापन समितिको बैठकमा मृतकका परिवार वा नजिकको हकदारलाई राहत रकम उपलब्ध गराइने जानकारी गराइएको थियो ।पहिरोमा परी पाँच जनाको ज्यान गएको थियो ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा धार्चे गाउँपालिकाका–५ का जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, बुवा कान्छा सुलाल गुरुङ, सोही स्थानका रमेश गुरुङ र आरुघाट–८ का रमेश परियार रहेका थिए । ‘रमेश परियार र रमेश गुरुङका परिवारलाई दुइ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइने निर्णय गरेका छौ,’ समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, ‘बाँकी तीन जना एकै घरपरिवारका भएकाले एकमुष्ठ ५ लाख ५० हजार दिने निर्णय भएको छ ।’
त्यस्तै पहिरोमा परि घाइते भएकाहरुको निशुल्क उपचारको व्यवस्था गरिदिन भन्दै राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंलाई पत्राचार गरिएको उनले जानकारी गराए । पहिरोमा परी धार्चे–५ का ३५ बर्षीय दिलिप गुरुङ र ३० बर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए ।
यता मनसुनजन्य विपदबाट क्षति पुगेका घरधुरीलाई निजी आवास पुननिर्माणको लाभग्राही सूचीमा समावेश गर्ने बिषयमा पनि बैठकमा छलफल भएको छ । पूर्ण रुपमा घर क्षति भएकाहरुलाई लाभग्राही कायम गर्न मिल्ने नमिल्ने एकीन गरिदिन भन्दै पालिकाले पठाएको विवरणको आधारमा जिल्ला प्रशासन कार्यालय गोरखाको नेतृत्वमा स्थलगत अनुगमन गरी लाभग्राही कायम गर्ने नगर्ने एकीन गर्ने बैठकमा निर्णय भएको छ ।
मनसुनजन्य विपदबाट पूर्ण रुपमा क्षति भएका घरलाई लाभग्राही कायम गर्न भन्दै पालुङटार नगरपालिकाले चार जना, शहिद लखन गाउँपालिकाले ६ जना र धार्चे गाउँपालिकाले दुई जना घरधनीको नाम सिफारिस गरेको छ । त्यस्तै पानपाले यसअघि लाभग्राही कायम भइसकेका तीन जना लाभग्राहीको अन्तिम किस्ता भुक्तानी गरिदिन भन्दै गरेको पत्राचारको बिषयमा पनि बैठकमा छलफल भएको छ ।
बैठकले निजी आवास पुर्ण रुपमा सम्पन्न भए नभएको जिल्ला प्रशासन कार्यालय गोरखा नेतृत्वमा स्थलगत अनुमगन गरी प्रतिवेदन तयार गर्ने र सोही अनुसार अन्तिम किस्ता भुक्तानी दिने निर्णय समेत गरेको छ । मनसुनजन्य विपदबाट पुर्ण रुपमा घर क्षति भएमा निजी आवास पुननिर्माणका लागि कुल चार लाख रकम राहत किस्तामा पाउने व्यवस्था छ ।
उनीहरुलाई अस्थायी आवास पुननिर्माणका लागि स्थानीय विपद व्यवस्थापन कोषबाट कुल ५० हजार रकम दुई किस्तामा उपलब्ध गराउने प्रावधान समेत रहेको बैठकमा जानकारी गराइएको छ । बैठकले पहिरोका कारण सशस्त्र प्रहरी बल गोरखा गुल्मको भौतिक संरचनामा क्षति पुगेको हुदाँ राहत रकम उपलब्ध गराइदिन प्रदेश विपद व्यवस्थापन समिति पोखरालाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।




