| मङ्लबार, कार्तिक २४, २०८३

७ पालिकाको जग्गा वर्गीकरणको काम सम्पन्न, सिरानचोक र चुमनुब्रीले अझैँ सुरु गरेनन्

प्रतीक्षा आले मगर ।
जिल्लाका ७ स्थानीय तहहरुले जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेका छन् । बारपाक सुलिकोट, आरुघाट, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकाले गत वर्ष नै जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेका हुन् । सहिदलखन र धार्चे गाउँपालिकाले गत असार मसान्तभित्र जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेका छन् ।

असार महिना भित्रै निर्णय गरेर मालपोल, नापी एवं प्रादेशिक र संघीय परिषदहरुमा विवरण पठाइसकेको सहिदलखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए । विकट मानिने धार्चे गाउँपालिकाले पनि जग्गा वर्गीकरणको काम हालसालै सम्पन्न गरेको बताएको छ । यता, जिल्ला सदरमुकाम समेत रहेको गोरखा नगरपालिकाको जग्गा वर्गीकरणको काम भने सम्पन्न हुन सकेको छैन् ।

वर्गीकरणको फाइनल लिस्ट तयार भएको तर हालसम्म कार्यपालिकाबाट पारित नभएको गोनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । यस्तै, मूल्य निर्धारणको काम समेत बाँकी रहेको उनले जानकारी दए । ‘यही असोज भित्र सम्पन्न हुने गरी काम भइरहेको छ’, उनले भने । भीमसेनथापा गाउँपालिकाले पनि संकलित तथ्याङ्कको विश्लेषणको काम भइरहेको बताएको छ ।

प्राविधिक कारणले ढिलो भएको भन्दै छिटो भन्दा छिटो सम्पन्न गर्ने तयारी भइरहेको पालिकाले जनाएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका र सिरानचोक गाउँपालिकाको जग्गा वर्गीकरणको काम भने आरम्भ हुन सकेको छैन् । दुवै पालिकाहरुले यो वर्ष भित्र काम सुरु गर्ने जनाएका छन् । सिरानचोकका अध्यक्ष ज्ञानेन्द्र गुरुङले प्राविधिक कारणले काम सुरु हुन नसकेको बताएका छन् । ‘केही प्राविधिक कारणले अड्किएका थियौँ, बजेटको पनि अभाव थियो’, उनले भने, ‘यो वर्ष भने जग्गा वर्गीकरणको कामलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।’

माघ/फागुनसम्ममा सम्पन्न गर्नेगरी काम भइरहेको उनको भनाइ छ । यस्तै, चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछाने पनि यो वर्ष जसरी पनि काम सुरु गर्ने बताए । ‘पालिकाका अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या धेरै छ त्यसैले गाह्रो भएको छ’, उनले भने, ‘हाम्रो क्षेत्रफल पनि धेरै भएकाले जग्गा वर्गीकरण अलि खर्चिलो बन्न पुग्छ तर यो वर्ष भने काम सुरु गर्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस्